• १२ साउन २०८१, शनिबार

केपी ओली कपको सेमीफाइनलमा बागमती

blog

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर ८ गते । पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेश सेमिफाइल प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमतीले सेमीफाइनल यात्रा तय गरेको हो । 

बागमती प्रदेशले दिएको १ सय ९० रनको बलियो लक्ष्य पछ्याएको कर्णाली १७ ओभर ३ बलमा ९९ रनमै समेटियो । खेलमा बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिनुभयो । कर्णालीलाई सस्तोमै समेट्न ३ ओभर ३ बल बलिङ गर्दै कप्तान सन्दीपले ९ रन खर्चेर ४ विकेट लिनुभएको हो । 

प्रतिश जिसी, रिजन ढकाल, सुभाष खत्री र इशान पाण्डेले समान १ विकेट झार्नुभयो । कर्णालीका लागि कप्तान रवीन्द्र शाहीले २०, अर्जुन घर्ती २४, बिपिन शाहीले २१ र दीपेन्द्र रावतले १२ रनको योगदान दिनुभयो । टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । 

बागमतीका लागि ओपनर रित गौतम र इशान पाण्डेले अर्धशतक प्रहार गरेका थिए । रितले सर्वाधिक ८२ रन र इशान पाण्डेले ७० रन बनाउनुभएको थियो । बागमतीका इशान प्लेयर अफ दि म्याच घोषित हुनुभयो । रितले ५९ बलमा २ छक्का र १० चौका प्रहार गर्नुभयो । प्रतिश जिसीले अविजित १२ रनको योगदान दिनुभयो । 

बलिङतर्फ कर्णालीका दिनेश अधिकारी र प्रकाश जैसीले समान ३ विकेट लिनुभयो । बागमतीले बिहीबार भएको पहिलो खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रातो’ लाई १०९ रनले पराजित गरेको थियो । 

समूह ‘ए’ का कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रातो’ प्रतियोगिताबाट बाहिरिएको छ । अहिले गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बीच खेल हुँदैछ । प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता छ ।