• ८ मंसिर २०८१, शनिबार

देउसीभैलोको त्यो रमाइलो

blog

दसैँपछिको दोस्रो ठुलो चाड तिहार, उज्यालोको पर्व ! पशुपन्छी, प्रकृति र दाजुभाइ पूजा गरिने चाड हो– तिहार । वर्षमा एक पटक खेलिने देउसीभैलो जसको तिहारमा विशेष महत्व रहनु स्वाभाविक हो । संस्कृति धान्न वा मनोरञ्जन गर्न खेलिने देउसीभैलोको तौरतरिका समय अनुकूल बदलिँदै जान थालेको छ । सारङ्गी, मादल, डम्फु र बाँसुरीका साथै हारमोनियमका धुनमा ताल सुर मिलाएर इतिहास र पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो प्रचलन अहिले धेरै कम देख्न पाइन्छ । आजभोलि ठाउँ अनुसार सबै कुरा परिवर्तित हुँदै गइरहेका छन् । देउसीभैलो भट्याउने भाकाहरू धेरै बदलिएका छन् ।

युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएको संस्कृतिविद्हरू बताउनुहुन्छ । परम्परागत देउसीभैलोलाई पछिल्लो समय आधुनिकताले प्रभावित गरेकोभन्दा पनि यसको मौलिकतामा विकृति बढेको बताउनुहुन्छ, संस्कृतिविद् तथा प्राडा जगमान गुरुङ । मादल, बाँसुरी, खैँजडीलगायतका बाजाको माध्यमले कथाव्यथा प्रस्तुत हुने देउसीभैलोलाई हिजोआज पश्चिमेली संस्कृतिको प्रभाव परेको छ । 

उहाँ भन्नुहुन्छ, “देउसीभैलो पौराणिक बोली होइन, जुम्लाको कैले गाउँमा उत्तिम थापा नाम गरेको मान्छेको घरमा दक्षिणबाट तीर्थयात्री एउटी गर्भवती महिला लिएर आएको र त्यही घरमा ती महिलाले बच्चालाई जन्म दिएकी हुन् । जुम्लामा नै बच्चा हुर्के बढेको हो । त्यसपछि काश्मिरबाट आएका चन्दननाथ जोगीले उत्तिम थापाको घरमा जन्मिएका बच्चालाई राजा बनाएर बलि राजाको संज्ञा दिएका हुन् । त्यही बलि राजाले त्यहाँका देवदासी र देवदासहरूलाई मागेर खानू भनेर देउसीभैलो खेल्न पठाएको हुनाले यो चलन चलिआएको हो ।”

धार्मिक वा परम्परागत संस्कृतिको बेलीविस्तार लगाउँदै भट्याउने चलन हिजोआज कम हुँदै गएका छन् । साङ्गीतिक समूह बनाएर पुराना बाजागाजा र पुराना लोकभाका मिलाएर लयबद्ध तरिकामा खेलिने देउसीभैलो हराउँदै गएको छ । नेपाली परम्परागत शैलीमा खेलिने देउसीभैलोका ढाँचाहरूमा थुप्रै परिवर्तन देखिन थालेका छन् । पौराणिक कथाहरूलाई आधार बनाएर भट्याउने प्रचलन हिजोआज सुन्न छाडिएका छन् ।

परम्परागत शैलीमा खेलिने देउसीभैलोमा हिजोआज पाश्चात्य सङ्गीत र भड्किलो पोसाकमा देउसीमा उत्रिने चलन बढेको छ । मादल, खैँजडी, बाँसुरीलगायतका बाजागाजामा गाउँघरका लोकगीत संस्कृतिलाई समेटेर खेलिँदै आएको देउसी आधुनिक पुस्ताले बिर्संदै आएका छन् । हिजोआज हिन्दी र अङ्ग्रेजी गीतमा भड्किलो तरिकाले देउसी खेल्ने प्रचलनले स्थान जमाएको छ । पहिले पहिले पुराणमा उल्लिखित यमराजको विषयवस्तु बनाएर दिदीबहिनी र दाजुभाइको स्नेहलाई जोड्ने देउसीभैलोको चलन कम हुन थालेको छ ।

नाङ्लामा एक पाथी धान, एक माना चामल, चामलमाथि बालिएको दियो, फलफूल, सेलरोटी र गच्छे अनुसारको दक्षिणा राखेर घरकी गृहलक्ष्मीले देउसेको स्वागत वा बिदाइ गर्ने चलन आफैँमा मौलिक छ । पहिले पहिले पाँच पैसे र दस पैसे ढ्याक निकालेर देउसेलाई सगुन दिइन्थ्यो । आज यो चाडलाई चन्दा सङ्कलनको माध्यम पनि बनाइँदै छ । सङ्कलन भएको रकम सामाजिक काममा लगाउनुको साटो रमाइलो गर्ने वा पिकनिकमा रमाउने प्रचलन बढेर गएको छ । मुखै फोरेर दान माग्ने वा व्यङ्ग्य गर्ने प्रचलनले तिहार विकृतिमय बन्न थालेको छ ।

देउसीका बेला घरबेटीलाई दिइने आशिष पनि भड्किलो पाराले प्रस्तुत गरिदिने र घरबेटीले थोरै रकम दिएमा व्यङ्ग्य गर्ने प्रचलन पनि बढेको छ । देउसीमा दिइने रकम गच्छे अनुसारको स्वैच्छिक भएकाले यसलाई सामाजिक काममा लगाउनु साटो दुरुपयोग गर्ने प्रचलन बढ्दै गएको पाइन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहारको महìव आफ्नै छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा वा गाईतिहार भनेर मान्ने प्रचलन छ । लक्ष्मीपूजाका दिन साँझमा दीपावली गर्ने, घरका चारैतिर झिलिमिली पार्ने र गोबरले लिपेर आँगनबाट ढुकुटी वा भण्डारसम्म सप्तरङ्गी रेखीबाट बनाइएको लक्ष्मीका पाइला पु¥याउने चलन छ । यसरी झिलिमिली बत्तीसँगै गोबरले लिपेको र रेखी हालेको ठाउँमा किशोरी तथा महिलाले भैलिनी गीत गाएर छुट्टै उमङ्ग र रमाइलो थप्ने चलन छ । 

संस्कृतिविद् गोविन्द टण्डनको भनाइ भने केही फरक छ । उहाँ भन्नुहुन्छ, “अहिले देशमा देउसीभैलो खेल्ने युवा नै कहाँ छन् र ! सबै त विदेश गइसके ।” हो देउसीभैलो खेल्ने शैलीमा परिवर्तन भने अवश्य आएको छ । एक त खेल्ने मान्छे नै छैन, त्यसमाथि सधँै यसमा खेल्नका लागि समय अवधि तोकिदिनाले पनि यसमा असर परेको हो कि !” हुन पनि ‘भैलिनी आइन् आँगन गुन्यूचोली मागन...’ भन्ने गीतबाट महिलाले मात्र रमाइलो गर्ने साथै रातभर खेलिने भैलिनीमा पुरुषको प्रवेशले भैलिनीको पनि महत्व घट्दै गएको पाइन्छ ।

टण्डनका अनुसार वास्तवमा देउसी पुरुष–महिला मिलेर खेल्ने र भैलिनी चाहिँ महिलाले मात्र खेल्ने चलन चाहिँ पहिलेदेखिकै हो तर हिजोआज पुरुष पनि महिलासँग रमाउँदै खेल्ने व्रmम सुरु भएको छ । “यसलाई अनौठो मान्नु चाहिँ हुँदैन, समय अनुसार संस्कृतिहरूमा पनि परिवर्तन आउँदै गएको बुझनु जरुरी छ ।” देउसी खेल्दा भट्याउने विषयवस्तुहरू फरक फरक सन्दर्भका हुन्छन् । विशेष गरेर पौराणिक कथाहरू प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेहरूलाई पनि आनन्द लाग्छ तर यस्ता पौराणिक कथाहरू पनि अब क्रमशः हराउँदै गएका छन् ।

महाभारतकालीन दानवीर बलिको कथालाई तिहारसँगै सुन्ने प्रचलन थियो । नेपालको जुम्लामा बलिराज शाही नामक राजा थिए । उनले सिरे र सुरे नामक दुई दाजुभाइलाई बोलाएर देउसी खेल्न पठाए । यसरी देउसिरे र देउसुरेको प्रचलन भयो । “हामी त्यसै आएनौँ, बलिराजाले पठाएको...” भन्ने देउसे र भैलिनीहरूको श्रुतिपरम्परामा मात्र बाँचेको त्यही इतिहासको सम्झनायोग्य कथाहरू पनि भट्याउने उपयुक्त मानिन्थे । त्यस्तै गरी श्रवणकुमार दशरथको कथा साथै यमुनाको कथा पनि चर्चामा छैन । खैँजडीमा भट्याइने रामकथा, कृष्णलीला, राजा हरिश्चन्द्रको कथा, सावित्रीको सत्यवान कथा, महादेव–सतिदेवीको कथा, धुन्धुकारीको कथा हिजोआज चर्चामा छैनन् । यस्ता कथाहरूको बेलिविस्तार लगाएर भट्याउने चलन पुरानो भए पनि हाल बिर्संदै गएको पाइन्छ । 

पछिल्लो समयमा देउसीभैलोमा सन्देशमूलक तरिकाले पनि खेल्न थालिएको छ । विभिन्न सङ्घ संस्थाले खेल्ने गरेका देउसीभैलो र ती समूहले भट्याउने विषयवस्तुको फेहरिस्तले सामाजिक सन्देश प्रवाह गरे पनि पौराणिक तथा धार्मिक कथा वा विषयवस्तुहरू ओझेल पर्ने गरेका छन् । हिजोआज क्लब, एनजिओहरूले सन्देशमूलक देउसी खेल्ने गर्छन् । त्यसबाहेक विभिन्न समुदाय, राजनीतिक दलहरूले आर्थिक सङ्कलन गर्ने अभिप्रायले खेल्ने गरेको देउसीले पौराणिक, धार्मिक वा सांस्कृतिक कथाहरू बिर्सन थालिएको छ ।