काठमाडौँ, भदाै ४ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गर्नुभएको हो ।
अध्यक्ष ओझा पदमुक्त
सरकारले नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझालाई बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने निर्णय गरेको छ । सञ्चार मन्त्री गुरुङले आज पत्रकार सम्मेलन मार्फत छानबिन समितिको सिफारिसमा नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझाले खराब आचरण प्रदर्शन गरेको कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकाले निजलाई नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने सरकारले निर्णय सुनाउनुभएको हो ।
त्यस्तै, आगामी भदौ ३० देखि ३१ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने रिजिलियन्ट सप्लाइ चेइन्स, एन्ड इक्युटेवल ग्रोथ इन अ चेन्जीङ वल्र्ड अफ वर्क कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, आगामी असोज ७ देखि ९ गतेसम्म इन्डाेनेसियामा आयोजना हुने एन्टी क्रप्सन इनिसिएटिभ फर एसिया एन्ड द पेसिफिक–२०२५ विषयक कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सहभागी हुन स्वीकृति दिने सरकारको निर्णय छ । आगामी कात्तिक १० देखि १४ गतेसम्म अरब गणतन्त्र इजिप्टको शार्म अल शेखमा हुने सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठनको २५ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउन महालेखापरीक्षक तोयम राया नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने, कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन चौतिस अर्ब उनन्चास करोड (करिब तीस अर्ब आठ करोड रुपियाँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने, अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्य राष्ट्रहरूका फन्ड कोटामा ५० प्रतिशतले वृद्धि गरिने प्रस्तावको पक्षमा सहमति प्रदान गर्ने, कोटा वृद्धि गर्दा थप हुने करिब ७८.४५ मिलियन एसडिआर मध्ये सोको २५ प्रतिशत चालु आर्थिक वर्षको विनियोजित बजेटबाट र बाँकी ७५ प्रतिशत नेपाल राष्ट्र बैँकको नाममा प्रमिसरी नोट (अर्थपत्र) जारी गरी भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने, लिज फाइनान्ससम्बन्धी विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने, समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन स्वीकृत गर्ने सरकारको निर्णय छ ।
त्यस्तै, मानव अधिकार पुरस्कार कोष सञ्चालन (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरे, सङ्खुवासभा तथा सदस्यहरूमा अधिवक्ता नवलकिशोर यादव, वीरगन्ज र आलोक चन्द्र श्रेष्ठ, बागलुङलाई नियुक्त गर्ने निर्णय भएको छ ।
यसैगरी, भदौ २३ देखि २७ गतेसम्म युगान्डाको कम्पालामा आयोजना हुने एसियन–अफ्रिकन लिगल कन्सल्टेटिभ अर्गनाइजेसन (एएएलसिओ) को ६३औं एनल सेसन मा सहभागिताका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई स्वीकृति प्रदान गर्ने, खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग र खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सञ्चालन हुने विभिन्न आयोजनाहरूका लागि अधिकृतस्तरका जम्मा ७६ अस्थायी दरबन्दी स्वीकृत गर्ने, कमिटी अन द इलीमिनेसन अफ डिस्क्रिमिनेसन अगेन्स्ट वुमन (सिड) का सदस्य बन्दना राणालाई कूटनीतिक राहदानी जारी गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री थाइल्यान्ड जाने
साथै, थाइल्यान्डको बैंककमा २०८२ भदौ १७ र १८ गते आयोजना हुने विश्व वित्तीय संरचनासम्बन्धी एसिया सहयोग संवादको उच्चस्तरीय सम्मेलन र २० औं परराष्ट्र मन्त्रीस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई स्वीकृति प्रदान गर्ने, नेपाली सेनातर्फ एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने, छ जना सहायक रथी र सात जना महासेनानीको सरुवा गर्ने, एक जना महासेनानीको सहायक रथीमा बढ़वा गर्ने, बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८२ तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको जानकारी पनि मन्त्री गुरुङले दिनुभयो ।
यस्तै, भदौ २५ देखि २८ गतेसम्म रसियाको सेन्ट–पेटरर्सवर्ग मा आयोजना हुने इलेभेन्थ सेन्ट पेटरर्सवर्ग युनाइटेड कल्चर्स फोरममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई स्वीकृति प्रदान गर्ने, धनकुटा नगरपालिकालाई मेक्सिकोको सिताकुआरो सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने, आदिवासी जनजाति आयोगका सदस्य शरण राईलाई आदिवासी जनजाति महासङ्घ, हङकङले मिति २०८२ भदौ २२ गते हङकङमा आयोजना गर्ने ३१ औं विश्व आदिवासी दिवस कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय छ ।
यसै गरी, २०८२ भदौ ३१ देखि असोज ७ गतेसम्म संयुक्त राज्य अमेरिकाको ब्रूमफिल्ड सहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रशासन मन्त्रालय प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने, मालपोत (आठौं संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, स्ट्यान्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, २३ राष्ट्रिय युवा नीति, २०८२ स्वीकृत गर्ने, नेपाल सरकार र दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल बिच हस्ताक्षर हुने हेडक्वाटर एग्रिमेन्ट विटविन गर्भमेन्ट अफ नेपाल एन्ड साउथ वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क २०२५ स्वीकृत गर्ने र मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने मन्त्रीपरिषद्को निर्णय रहेको छ ।