काठमाडौँ, साउन १३ गते । नाटक कलाको यस्तो विधा हो; जो यसमा डुब्छ उसले मात्र नाटकलाई बुझ्छ । बाहिरबाट हेर्दा नाटकको उद्देश्य र महत्व मनोरञ्जन जस्तो मात्र देखिन्छ तर रङ्गकर्मी भने यसभित्र जीवन नै लुकेको बताउँछन् । नाटकले धेरै कलाकारलाई जन्माएको छ । कोही औपचारिक शिक्षा लिएर नाटकमा लागेका छन् भने कोही आफ्नो अनुभव र स्वअध्ययनले । रङ्गमञ्चमा आफ्नो भविष्य खोज्ने, नाटकलाई योगदान दिन चाहने र यसबाट आफ्नो जीवनमा केही लिन चाहने थुप्रै युवा अहिले रङ्गमञ्चमा होमिएका छन् ।
कुनै बेला नाटकबाट जीवन चलाउन धौ धौ पथ्र्याे तर अहिले नाटकका कलाकारले नामसँगै दाम पनि कमाउन थालेका छन् । अहिले नाटक सिक्नेको सङ्ख्या ह्वात्तै बढेको छ । कोही यसमा आफ्नो सोखका कारण लागेका छन् भने कोही केवल नाटक बुझ्न मात्र ।
रङगकर्मी खुसी सुनुवार भन्नुहुन्छ, “पहिलादेखि नै नेपाली कलामा रुचि राख्ने हुनाले यस क्षेत्रमा लागेकी हुँ ।” पछिल्ला तीन वर्षदेखि नाटक गर्न थालेका सुनुवारका अनुसार नाटक भनेको एउटा यात्रा हो; जो कहिल्यै टुङ्गिँदैन । नाटकले समाजसामु आफूलाई चिनाउन ठुलो काम गर्छ । नाटक भनेको जे देखिन्छ, त्यसलाई अनुभव गर्ने हो । नाटक सिक्न नाटकको कक्षा आवश्यक पर्ने भएकाले औैपचारिक शिक्षा लिएरै यस क्षेत्रमा होमिएको उहाँले बताउनुभयो । “नाटक गरेर मैले आफूले आफैँलाई बुझ्ने अवसर पाएको छु,” उहाँले भन्नुभयो ।
खुसी जस्तै नाटकमा भर्खरै हामफालेका रङ्गमकर्मी हुनुहुन्छ, प्रेम चन्द । बलिउडबाट प्रेरित भएर चलचित्रमा अभिनय गर्ने हुटहुटीकै कारण अहिले नाटकको बाटो समातेको उहाँको भनाइ छ । उहाँका अनुसार नाटक पैसा कमाउन मात्र होइन, सामाजिक दृष्टि र तरिका सिक्न पनि हो । नाटकसँगै जीविकोपार्जनका लागि अन्य व्यवसाय गर्न सकिने उहाँको ठम्याइ छ । चन्द भन्नुहुन्छ, “नेपालमा कलाकारहरू पूर्णकालीन हुन चाहन्छन् तर भारतका धेरै ठाउँमा नाटकसँगै जीविकोपार्जनका लागि कलाकारले अन्य व्यवसाय पनि गरेका हुन्छन् ।”
नाटकमा युवापुस्ताको आकर्षणबारे चर्चा गर्दा रङ्गकर्मी सरस्वती चौधरीको भनाइ सान्दर्भिक हुन्छ । उहाँले भन्नुभयो, “रङ्गमञ्चमा नयाँ कलाकार आउनु भनेको राम्रो पाटो हो । रङ्गमञ्चमा आउन अध्ययन जरुरी छ । केही दिनको कक्षा लिएर रङ्गमञ्चमा लाग्छु भन्नु मूर्खता हुन्छ । तीन महिनामा नाटकको कोर्स गरेर कलाकार भइँदैन ।”
समाजका कुरीति र बेथितिविरुद्ध सचेतना फैलाउने काम नाटकले नै गर्छ । यसमा विशेष गरी युवापुस्ताको योगदान छ । पछिल्लो समय रङ्गमञ्चले युवापुस्तालाई आकर्षित मात्र गरेको छैन, समाजलाई डो¥याउने खँदिलो विषयवस्तु पनि पस्किरहेको छ ।