शिवा तामाङ
काठमाडौँ, भदौ १ गते । विगत १६/१७ वर्षदेखि साङ्गीतिक यात्रामा रहेका गायक चेतन राई अहिले विभिन्न महोत्सवमा व्यस्त हुनुहुन्छ । उहाँको अनुभवमा गायकका लागि महोत्सव मात्र होइन, प्रविधिको विकासले पनि बजार अझै फराकिलो बनाएको छ । उहाँ भन्नुहुन्छ, “विगतमा सङ्गीत सुन्ने, प्रस्तुत गर्ने माध्यम निश्चित हुन्थे भने अहिले हात हातमा मोबाइल छन् । देश विदेशमा महोत्सव पनि धेरै आयोजना हुन्छन् । युट्युब, फेसबुकलगायतका च्यानलबाट पनि गीत सार्वजनिक गर्ने अवसरले यस क्षेत्रमा सबैखाले गीतका लागि श्रोताको कमी छैन ।”
गायक राईको विचारमा अहिले जुनसुकै विधाको गीतको उत्तिकै बजार छ । उहाँ भन्नुहुन्छ, “अहिले हिपहप, ¥याप विधाका गीतको पनि उत्तिकै श्रोता छन् । मैले गाउने आधुनिक, पप विधाका श्रोता पनि प्रशस्त छन् । लोकगीत त नेपालीको मौलिक परम्परा हो, यसका श्रोता नहुने प्रश्नै छैन ।” श्रोता/दर्शकले गीत हेर्ने माध्यममा पनि चाहने भएकाले अहिले म्युजिक भिडियो बनाउनु अनिवार्य जस्तै भएको उहाँ बताउनुहुन्छ । यस पक्षमा श्रोता/दर्शकको माग पनि आफूलगायत सबै गायकगायिकाले पूरा गर्दै आएको राईको भनाइ छ ।
सन् १९७८ अगस्तमा सल्यान जिल्लाको खलङ्गा बयलडाँडामा जन्मिएका गायक राई साङ्गीतिक माहोलमै हुर्किनुभएको हो । उहाँका पिता भजनकीर्तन, लोकगीत गाउँदै गाउँघरको पूजा एवं अन्य सामाजिक कार्यक्रममा रमाइलो गर्नुहुन्थ्यो । बुवाले गाउँदै हिँड्दा उहाँले पनि सानैदेखि गीत गाउने कला सिक्नुभयो । एसएलसी उत्तीर्ण गरेपछि उहाँले राजधानीको ललितकला क्याम्पसमा सङ्गीतको अध्ययन गर्नुभयो । सो क्याम्पसबाट स्नातक गरेपछि उहाँ सङ्गीत क्षेत्रमै हुनुहुन्छ । परिवारमा साङ्गीतिक वातावरण भएकाले उहाँलाई सङ्गीत सिक्न र पढ्न कुनै अवरोध खेप्नु परेन । ललितकला पढ्छुभन्दा पितालगायत घरपरिवारको समर्थन पाउनुभयो । उहाँले प्रभुराज ढकाल, उदय सोताङलगायतका गुरुसँग सङ्गीत सिक्नुभयो ।
गीत रचना र सङ्गीत संयोजन गर्नसमेत रुचाउने गायक राईले हालसम्म ८० भन्दा बढी गीत रेकर्ड गराउनुभएको छ । प्रायः पप तथा आधुनिक विधाका गीत गाउन रुचाउने गायक राईको सन् २०१० मा बजारमा आएको ‘सेभेन’ एल्बमले उहाँलाई दर्शक/श्रोतामाझ चिनाउन मद्दत ग¥यो । पहिलो गीति एल्बम ‘सेभेन’ बाट पाएको दर्शक/श्रोताको अपार मायाको हौसलापछि उहाँले सन् २०१५ मा दोस्रो एल्बम ‘साउन्ड’ सार्वजनिक गर्नुभयो ।
उहाँले केही वर्षको अन्तरालमा तेस्रो एल्बम ‘स्टेप’ र ‘स्पिड’ पनि ल्याउनुभयो । उहाँका पछिल्ला एल्बममा समेटिएका गीत पनि दर्शक/श्रोताले धेरै मन पराएका छन् । उहाँले गीत गाएरै थुपै्र सम्मान र पुरस्कार प्राप्त गर्नुभएको छ ।
उहाँले राप्ती म्युजिक अवार्ड, नेसनल गण्डकी म्युजिक अवार्ड, एएनपी नेसनल अवार्ड, जिनियस म्युजिक अवार्ड, हिमालयन इन्टरनेसनल म्युजिक अवार्ड प्राप्त गर्नुभएको छ । त्यसै गरी उहाँले राप्ती साहित्य परिषद् सल्यान सम्मान, वल्र्डवाइज मिडिया नेटवर्क प्रालि सम्मान, एल्लो टाइगर मुभिज एन्ड इन्टरटेनमेन्ट प्रालि सम्मान, साधना दशक गायक सम्मान पनि पाउनुभएको छ ।
सङ्गीत क्षेत्रमा आउन चाहने नयाँ प्रतिभालाई गायक राई निरन्तर साधना गर्न सुझाव दिनुहुन्छ । उहाँका अनुसार यस क्षेत्रमा धैर्य र मेहनतको सधैँ परीक्षा हुन्छ भने देशविदेशमा रहेका दर्शक/श्रोताको माया पाउने अवसर पनि मिलिरहन्छ ।