अविनाश चौधरी
धनगढी, भदौ ४ गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेशमा प्रदेश विपद प्राधिकरण गठन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशमा कानुन निर्माण र कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा उहाँले प्रदेश विपद प्राधिकरण गठन गर्न जरुरी रहेको बताउनुभएको हो । त्यसका लागि प्रदेश सरकारले ऐन ल्याउने तयारी गरिरहेको मन्त्री सार्कीको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म बजेटसम्बन्धि सालबसाली ऐनसहित ६३ वटा ऐन जारी भइसकेको छ । जसमध्ये अस्तित्वमा रहेको ऐनहरु ४६ वटा रहेको जनाइएको छ । बनेको सबै ऐन कार्यान्वयनका लागि आफ्नो मन्त्रालयले पहल गर्दैआएको मन्त्री सार्कीले बताउनुभयो ।
दलित सशक्तिकरण ऐन कार्यान्वयन गर्न समस्या भएपछि संशोधन प्रक्रिया अगाडि बढाइएको मन्त्रीको भनाइ छ । यस्तै, प्रदेश सञ्चारसम्बन्धि विधेयक जारी अधिवेसनबाट पारित हुने उहाँले उल्लेख गर्नुभयो । जारी भएका कानुन नागरिकसम्म लैजाने मन्त्री सार्कीको भनाइ छ ।