• ४ भदौ २०८२, बुधबार

बढ्दो चिकित्सक पलायन : नीतिगत सुधारको योजनामा सरकार

blog

स्केच : एआई

  • नेपालमा डाक्टर भएर पैसा कमाउन नसकिने रहेछ । मेरो इच्छा, आकाङ्क्षा चिकित्सा पेसाले पूरा गर्न नसकेपछि अस्ट्रेलिया जान लागेको हुँ ।
  • चिकित्सक पलायल रोक्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) का साथै नीतिगत सुधार गर्ने सरकारको योजना छ ।

काठमाडौँ, भदौ ४ गते । नेपालमा चिकित्सा पेसामा आकर्षण हुन छाडेको छ । न्यून तलब सुविधा, असुरक्षा, पढेको शुल्क उठ्न कठिन, रोजगार पाउन मुस्किल जस्ता समस्याले गर्दा चिकित्सा पेसामा आकर्षण हुन छाडेको हो ।  

त्यति मात्र होइन, राम्रो सेवासुविधा भएका सरकारी अस्पतालमा कार्यरत चिकित्सकसमेत नेपालमा भविष्य नदेखेपछि युरोप, अमेरिका, अस्ट्रेलिया, बेलायत जस्ता देशमा पलायन हुन थालेका छन् । चिकित्सकलाई टिकाइराख्न सरकारसँंग ठोस कार्ययोजना भने छैन । ३२ वर्षअघि ओएनएम भएको जनशक्तिले अहिलेसम्म स्वास्थ्य क्षेत्र टिकिरहेको छ । हालसम्म पनि ३२ वर्षअघिको दरबन्दी कायम छ । दरबन्दी नथपिँदा पनि चिकित्सक पलायनको बाटो रोज्न बाध्य छन् । 

सरकारी जागिर छाडेर अमेरिका, अस्ट्रेलिया  

एमबिबिएसमा ७० लाख खर्च गरेर पढ्नुभएका किशोर शर्मा (नाम परिवर्तन) यतिखेर अस्ट्रेलिया जान तयार हुनुहुन्छ ।  अस्ट्रेलिया जानका लागि उहाँले सम्पूर्ण प्रक्रिया पूरा गरिसक्नुभएको छ । शर्माले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडी अर्थोपेडिकमा एक नम्बरमा नाम निकाल्न पनि सफल हुनुभएको थियो तर उहाँ अर्थोपेडिक अध्ययन गर्न छाडेर अस्ट्रेलिया जाँदै हुनुहुन्छ । हाल मेडिकल अफिसरका रूपमा नुवाकोटको एक स्थानीय तहमा कार्यरत शर्मा केही समयपछि अस्ट्रेलिया उड्दै हुनुहुन्छ ।

 यहाँ एमडी अध्ययन गर्न छाडेर किन अस्ट्रेलिया रोज्नुभयो भन्ने प्रश्नमा उहाँले सहजै जवाफ दिनुभयो, “नेपालमा डाक्टर भएर पैसा कमाउन बुढो हुनुपर्ने रहेछ । मेरो इच्छा, आकाङ्क्षा चिकित्सा पेसाले पूरा गर्न नसकेपछि अस्ट्रेलिया जान लागेको हुँ ।” सँगसँगै उहाँको अर्को जवाफ थियो, “मेरो साथी प्लस टु गर्नेबित्तिकै अमेरिका गयो, म एमबिबिएस अध्ययनमा लागेँ । अहिले उसको काठमाडौँमा दुई वटा घर छ, अमेरिकामा पनि घर किनिसक्यो । नेपालमा आएका बेला जति पनि खर्च गर्न सक्छ ।

 उसलाई अब पैसाको अभाव छैन तर म ४० हजारको जागिर सोर्सफोर्समा खाइरहेको छु । अर्थोपेडिकमा नाम निकाले पनि पूरा गर्न तीन वर्षभन्दा बढी समय लाग्ने र पास गर्नेबित्तिकै भने अनुसारको जागिर पाउन कठिन भएकाले अस्ट्रेलिया जान लागेको हुँ ।” शर्माले पोखरास्थित मणिपाल मेडिकल कलेजबाट एमबिबिएस गर्नुभएको हो । 

यस्तै त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सक सम्पूर्ण परिवारसहित अमेरिका उड्नुभयो । यति राम्रो जागिर हुँदाहुँदै किन अमेरिका स्थायी बसोबासका लागि जान लाग्नुभएको भन्ने प्रश्नमा उहाँको जवाफ नेपालको अवस्था, नेपालको कमाइले नपुग्ने भएपछि सपरिवार अमेरिका जान बाध्य भएँ । उहाँले नेपालमा चिकित्सा क्षेत्रमाथिको असुरक्षा र न्यून तलब सुविधाका लागि अमेरिका गएको प्रस्ट गर्नुभयो । 

बढे बिदेसिने चिकित्सक

नेपाल मेडिकल काउन्सिलका अनुसार विदेश जानका लागि गुड स्ट्यान्डिङ प्रमाणपत्र लिनेमा दुई हजार ६८१ जना छन् । तीमध्ये युके ५५०, अमेरिका ५८७, माल्दिभ्स ३८४, युएई २०५, अस्ट्रेलिया २५३, भारत १९२, क्यानडा ३८, जर्मनी १६, कतार १०, सिङ्गापुर नौ, डेनमार्क ३३, हङकङ ११, आयरल्यान्ड छ, साउदी तीन, ओमान ३६, अन्य राष्ट्रमा ५७ जना छन् । यो तथ्याङ्कले पनि नेपालबाट चिकित्सक पलायन भइरहेको देखाएको छ । 

केही वर्षभित्र नेपालमा चिकित्सक सङ्कट

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले चिकित्सकको पलायन रोक्नलाई सेवासुविधा बढाउनुपर्ने बताउनुभयो । नेपाल चिकित्सक सङ्घका अध्यक्ष अनिलविक्रम कार्कीले नेपालमा अत्यन्त न्यून सेवासुविधाका कारण चिकित्सक पलायन हुने क्रम बढेको बताउनुभयो । 

उहाँले करोड क्षतिपूर्ति तिरेर चिकित्सक नेपालमा बस्न नसक्ने तर्क गर्दै अबका दिनमा बिदेसिने चिकित्सकको लाम लाग्ने दाबी गर्नुभयो ।  निजी मेडिकल कलेजको सङ्गठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले विदेश जाने चिकित्सकलाई रोक्न नसकिने बताउनुभयो । उहाँले विश्वमा अवसर खोज्न जाने चिकित्सकलाई रोकेर नरोकिने भन्दै देशमा धेरै चिकित्सक आफ्नो भविष्यको खोजीमा विदेश गएको बताउनुभयो । 

चिकित्सक सङ्घका महासचिव 

डा. सञ्जीव तिवारीले पछिल्लो समय अदालतले समेत नेपालमा चिकित्सकलाई करोड क्षतिपूर्ति भराएपछि नेपालमा बस्ने वातावरण नभएको बताउनुभयो । उहाँले अबको पाँचदेखि १० वर्षभित्र नेपालमा चिकित्सक एकाधबाहेक सबै विदेश पलायन हुने निश्चित भइसकेको बताउनुभयो । उहाँले  चिकित्सक पलायन रोक्नका लागि कुनै पहल नगरी सरकार मूकदर्शक भएर बसेको आरोप लगाउनुभयो ।

चिकित्सक पलायन तत्काल रोक्न सकिँदैन, नीतिगत व्यवस्था गर्नु पर्छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गोरखापत्रसँग कुरा गर्दै चिकित्सकलगायत स्वास्थ्यकर्र्मीको पलायन रोक्न सेवासुविधामा वृद्धि गर्नुपर्ने बताउनुभएको छ । तत्काल रोक्ने भन्नेबित्तिकै रोक्न सम्भव छैन । यसका लागि योग्यता, क्षमता भएका विशिष्टीकृत चिकित्सकलाई नेपालमा काम दिन सक्नु पर्छ । त्यसका लागि लोक सेवा आयोग खोल्नु पर्छ । २०४८ सालपछि स्वास्थ्यमा ओएनएम हुन सकेको छैन । ओएनएम गरेर जनशक्ति थप गर्नु पर्छ । 

लोक सेवा आयोगले कम्तीमा सात/आठ सय चिकित्सक मागेर पदपूर्ति गर्न सक्नु पर्छ । यस्तै एक हजार तीन सय नर्स तत्काल पदपूर्ति गर्नुपर्ने हुन्छ । अन्य स्वास्थ्यकर्मीलाई पनि त्यही अनुसार लोक सेवा खुलाउनु पर्छ । सेवासुविधा बढाएर निर्वाहमुखी बनाउनु पर्छ । सेवासुविधामा पुनर्विचार गर्नु पर्छ । 

निजी क्षेत्रमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि कम तलबमा काम गराइराखिएको छ । उनीहरूलाई निर्वाहमुुखी सेवासुविधा उपलब्ध गराउन सक्नु पर्छ । कार्यस्थलमा सुरक्षित भएर काम गर्न सक्ने स्थिति बढाउनु पर्छ । समय समयमा आन्तरिक वृद्धि विकास गरिनु पर्छ । यस्ता विविध विषयलाई नीतिगत रूपमा पास गराएर चिकित्सक देशमै बस्ने वातावरण बनाउनु पर्छ । 

स्वास्थ्य मन्त्रालयले पाँच वर्षभित्र १२ हजार स्वास्थ्यका जनशक्ति थप्ने प्रस्ताव अघि बढाएको छ । यो वर्ष दुई हजार पाँच सय थप गर्ने प्रस्ताव अघि बढेर अर्थ मन्त्रालयमा पुगेको छ । चिकित्सकको सेवासुविधा केही हदसम्म बढाउने विषयमा छलफल भइरहेको छ । 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।