• ४ भदौ २०८२, बुधबार

प्रेस सेन्टर–गोरखापत्र छलफल : लोकतन्त्र र पत्रकारको सुरक्षामा जोड

blog

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी तथा महाप्रबन्धक लालबहादुर ऐरी प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीलाई मायाको चिनो प्रदान गर्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, भदौ ४ गते । प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी नेतृत्वको टोलीले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी तथा सम्पादकीय नेतृत्वसँग बुधबार विभिन्न विषयमा छलफल गरेको छ ।

गोरखापत्र संस्थानको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बुधबार भएको छलफलमा अध्यक्ष गिरीले गोरखापत्र राज्यको पत्रिका भएकाले मुलुकका मुख्य विषयहरूमा बहसको नेतृत्व गर्नुपर्ने धारणा राख्नुभयो । 

अध्यक्ष गिरीले भन्नुभयो, ‘‘गोरखापत्र राज्यको पत्रिका हो, अहिले सरकारको मात्रै सेवक हो कि भन्ने अनुभूति भएको छ, प्रमुख प्रतिपक्षी दलका नेताको समाचार र तस्बिरले पनि दैनिक प्रकाशनहरूमा यथोचित स्थान पाउनुपर्छ । हामी चाहन्छौं गोरखापत्रले राज्यका मुख्य मुद्दाहरूमा बहसको नेतृत्व गरोस ।’’ 

यसैगरी, प्रतिनिधि मण्डलमा आएका पदाधिकारीले गाेरखापत्रले लोकतन्त्रको मूल मर्मलाई अझ प्राथमिकता साथ स्थान देओस भन्दै गोरखापत्र संस्थान मुनाफा रहेकोमा संस्थानको नेतृत्वलाई बधाइ ज्ञापन गर्नुभयो । 

उहाँहरुले जिल्लामा कार्यरत समाचारदाता र करार सेवामा कार्यरत पत्रकार तथा कर्मचारीको सेवा सुरक्षाबारेमा पनि ध्यानाकर्षण गराउनुभयो । 

अध्यक्ष गिरीको टोलीमा उपाध्यक्ष लक्ष्मण खड्का, महासचिव मनोज घर्ती मगर, उपमहासचिव बुद्ध लोप्चन, सचिव  नवराज दाहाल,  दिपिन राई र केशव भूल सहभागी हुनुहुन्थ्यो । 

छलफलमा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले हाम्रा मुख्य तीन धर्म छन्, पहिलो राज्य धर्म हो–राज्यको सेवक हो, दोस्रो नागरिक धर्म–हामी सधैं नागरिकप्रति जवाफदेही हुनुपर्छ र तेस्रो धर्म– व्यावसायिक रहनुपर्छ भन्नुभयो । 

उहाँले गोरखापत्र नेपाली पत्रकारिताको प्रतिष्ठित पाठशाला पनि हो, लाखौं लाख पाठकसँग व्यावसायिकरूपमा जोडिनु पर्ने हुन्छ भन्दै वर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ गोरखापत्रको नयाँ ऐन बनाएर यसको रुपान्तरण गर्न दृढतापूर्वक लाग्नु भएको बताउनु भयो । 

कार्यकारी अध्यक्ष सुवेदीले संस्थानले अघिल्लो आर्थिक वर्ष ७२ करोड र गएको आर्थिक वर्षमा ८२ करोड कुल आम्दानी गरेको जानकारी दिँदै गोरखापत्रलाई राष्ट्रको मिडिया बनाउने प्रयास जारी छ भन्नुभयो । 

यसैगरी, संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र विगत चार वर्षदेखि नाफामा रहेको र राज्यको मिडिया बनाउनका लागि बहस चलाउन प्रेस सेन्टरको नेतृत्वसँग आग्रह गर्नुभयो । उहाँले  गोरखापत्रलाई राज्यको मिडिया बनाउन कानुनी प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरिएको बताउनु भयो । 

महाप्रबन्धक ऐरीले गोरखापत्र संस्थानको रुपान्तरणका लागि नयाँ मस्यौदा ऐनको कार्य अगाडि बढेको पनि जानकारी दिनुभयो । प्रेस सेन्टरको टोलीले पञ्चायती कालको ऐनबाट गोरखापत्र सञ्चालन भइरहेको भनी ध्यानाकर्षण गराएपछि महाप्रबन्धक ऐरीले सो जानकारी दिनु भएको हो । 


छलफलमा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, निमित्त प्रबन्ध सम्पादक रामप्रसाद आचार्य, द राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम, डिजिटल प्रमुख नारदमुनि गौतम, राइजिङ डेली डटकमका संयोजक नन्दलाल तिवारी सहभागी हुनुहुन्थ्यो । 

 उहाँहरुले दैनिकमा स्थानको सीमा रहेको तर डिजिटल प्रकाशनमा सबैका विचार र समाचारले स्थान पाएकोे, गोरखापत्रमा ४५ भाषामा समाचार प्रकाशन भइरहेको र ७७ जिल्लाबाट आएका समाचारले स्थान पाएकाले गाेरखापत्र सबैभन्दा बढी समावेशी मिडिया भएको भनाइ राख्नुभयो । 

यसैगरी, छलफलमा जिल्ला समाचारदाता तथा करार सेवामा रहेका पत्रकार तथा कर्मचारीको सेवा सुरक्षालाई व्यवस्थित र अझ सुरक्षित बनाउन कार्यविधिको मस्यौदा तयार भई सञ्चालक समितिमा अध्ययन भइरहेको जानकारी दिइयो ।