• २० असोज २०८१, आइतबार

षडानन्द राष्ट्रिय पुरस्कारबाट प्राध्यापक विद्यानाथ भट्ट सम्मानित हुने

blog

काठमाडौं, कात्तिक १६ गते । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको बिहीबार बसेको ११५ औँ बैठकले २०८० को षडानन्द राष्ट्रिय पुरस्कार प्राध्यापक विद्यानाथ भट्टलाई दिने निर्णय गरेको छ । 

प्रतिष्ठानका सचिव प्रा. डा. बद्रीविशाल भट्टराईका अनुसार शिक्षा र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउनुभएका भट्टलाई एक लाख रुपियाँ नगद राशिसहित सम्मान गरिनेछ ।

यो पुरस्कार पूर्वाञ्चलको भोजपुर, दिङ्लामा जन्मिएर नेपालको शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमा अतुलनीय योगदान पुर्‍याउने आबाल ब्रह्मचारी षडानन्द अधिकारी (वि.सं १८९२–१९७३) को स्मृतिमा स्थापना गरिएको हो ।

आचार्य उपाधि प्राप्त ८३ वर्षीय प्राध्यापक विद्यानाथ भट्टले तत्कालीन नेपाल राजकीय संस्कृत महाविद्यालयमा नियुक्त भई आफ्नो शिक्षक जीवन सुरु गर्नुभएको थियो । सो महाविद्यालय त्रिभुवन विश्वविद्यालयमा समाहित भएपछि उहाँ त्रिवि अन्तर्गत संस्कृत अध्ययन संस्थानको सहायक डिन तथा डिनसमेत हुनुभयो । महेन्द्र संस्कृत विश्वविद्यालय गठन भएपछि उहाँ सो विश्वविद्यालयको शिक्षाध्यक्ष हुनुभयो । पूर्वीय दर्शनका विशिष्ट विद्वान् प्राध्यापक भट्ट तन्त्रशास्त्र तथा योगका ज्ञाता, व्याख्याता तथा सफल साधक हुनुहुन्छ ।

यसैगरी, षडानन्द क्षेत्रीय पुरस्कार २०८० नेपाली आख्यान साहित्य (विशेषतः कथा) को क्षेत्रमा विशेष योगदान पुर्‍याउने साहित्यकार परशु प्रधानलाई प्रदान गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । प्रधानलाई ५१ हजार रुपियाँ नगद पुरस्कार राशिसहित सम्मान गरिनेछ ।

पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने षडानन्द क्षेत्रीय पुरस्कार प्रदान गरिँदै आएको उहाँको भनाइ छ ।

साहित्यकार प्रधान पूर्वाञ्चलको भोजपुर बजारमा जन्मनुभएको हो । उहाँ नेपाली साहित्यका विशिष्ट साधक हुनुहुन्छ । उहाँका दर्जन जति कथा सङ्ग्रह, दुई उपन्यास, एउटा कविता सङ्ग्रहका साथै बाल साहित्यसँग सम्बन्धित पुस्तकहरू प्रकाशित छन् ।

उहाँले साहित्यिक क्षेत्रमा करिब ६ दशकदेखि सेवा गर्नुभएको छ । 

उहाँले यी पुरस्कार ब्रह्मचारी षडानन्दको १८८ औँ जन्मजयन्ती २०८० पुस १ गते मार्ग शुक्ल पञ्चमी (विवाहपञ्चमी) का दिन प्रदान गरिने जानकारी दिनुभयो ।