• २० असोज २०८१, आइतबार

मेडरी नाच लोप हुने चिन्तामा थारु समुदाय

blog

नवलपरासी, कात्तिक १० गते । थारु समुदायको पौराणिक महत्वको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ । नवलपरासी [बर्दघाट सुस्ता पूर्व] मा थारु समुदायले आफ्नो कला र संस्कृति जगेर्ना गर्न पहल गर्दै आए पनि पुरानो मेडरी नाच भने लोप हुने अवस्थामा पुगेको मेडरी नाच नचनिया दुलामणि गुरौले बताउनुभयो । 

“मेडरी नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाइँमा पाँचपाण्डवले प्रयोग गरेका सामान लिएर समूहमा गोलाकार भएर नाचिन्छ, यस नाचमा कम्तीमा एक सयदेखि बढीमा एक सय ५०सम्म नचनिया गोलाकार रूपमा नाच्ने गरिन्छ”, उहाँले भन्नुभयो ।  

थारु समुदायका अन्य नाच भने युवापुस्ताले जगेर्ना गर्दै आए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको नचनिया गुरौले बताउनुभयो । “दैवी शक्तिमा आधारित मेडरी नाच विशेष गरी दसैँ र तिहारलगायत पर्वमा नाच्ने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उहाँले भन्नुभयो, “पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधिनी एकादशीसम्म नचाइने गरिन्थ्यो ।”

महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बिचमा ध्वजापताकासहितको ठुलो बासको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरबारको प्रयोग हुन्छ । यस नाचप्रति युवाको चासो भने हराउँदै गएको थारु अगुवा पुष्परत्न महतोले बताउनुभयो ।

“जिल्लामा यो नाचका लागि प्रत्येक घरबाट एक जना सहभागी हुनुपर्ने नियम बनाइएका कारण बाध्यताले पनि युवा जुट्छन्”, उहाँले भन्नुभयो, “तर आवश्यक सामान बनाउन  समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवापुस्तामा  हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ ।” थारु समुदायको लाठी नाच र झाम्टा नाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाचप्रति चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो । थारु संस्कृतिको पहिचान स्थापित गर्न यो नाचको निकै महत्त्व भए पनि  नयाँ पिँढीले भने महत्त्व बिर्सिँदै गएको अगुवा महतोले बताउनुभयो । 

“विगतमा मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले यो नाचलाई निरन्तरता दिन सकेनन् भने नयाँले चासो पनि देखाउन छाडे”, उहाँले भन्नुभयो, “अहिले नाच हराउँदै जान थालेको छ ।” थारु समुदायमा कृष्णलीला र महाभारतमा आधारित मेडरी नाच मात्रै देखाउने गरिएको छ भने सीताहरण नाच लोप हुने अवस्थामा पुगेको सम्बद्ध बुढापाकाले बताए ।