बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), वैशाख ३० गते । सरकारले तोकेको गहुँको न्यूनतम समर्थन मूल्यमा कृषकले गहुँ बिक्री गर्न नमान्दा खाद्यले कृषकबाट गहुँ खरिद गर्न सकेको छैन । महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कृषकले सरकारले तोकेको समर्थन मूल्यमा गहुँ बिक्री गर्न नमान्दा पाँच वर्षयता गहुँ खरिद गर्न नसकिएको जनाएको हो ।
खाद्य सुरक्षा कायम गर्न, दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्ति गर्न तथा बजार मूल्य नियन्त्रणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कृषकबाट खाद्यान्न खरिद गर्दै आएको छ । नियमित रूपमा धान खरिद भने गर्दै आएको सो कार्यालयले गहुँको समयमा भने न्यून समर्थन मूल्यका कारण कृषकबाट गहुँ खरिद गर्न नसकिएको जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरका प्रमुख महिकरण महराले सरकारले तोकेको गहुँको न्यूनतम समर्थन मूल्यमा यहाँका कृषकले गहुँ बिक्री गर्न नमान्दा खरिदको काम रोकिएको बताउनुभयो । पाँच वर्षयता गहुँ खरिद हुन नसकेको उहाँको भनाइ छ ।
“गत आर्थिक वर्षमा गहुँ खरिदका लागि तीन हजार क्विन्टल कोटा निर्धारण गरिएको थियो,” उहाँले भन्नुभयो, “कृषकले गहुँ बिक्री नै गर्न मानेनन् ।”
सो कार्यालयले गत आवमा गहुँ खरिदका लागि निर्धारण गरिएको तीन हजार क्विन्टलमध्ये एक क्विन्टलसमेत गहुँ खरिद नहुँदा यस वर्ष भने खरिदका लागि कोटा नै निर्धारण नभएको जनाएको छ । यस वर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ९४५ रुपियाँ निर्धारण गरेको छ ।
गत वर्ष मात्रै प्रतिक्विन्टल चार हजार छ सयका दरले व्यवसायीलाई गहुँ बिक्री गरेका बेलौरीका कृषक हरिश उपाध्यायले सरकारले तोकेको समर्थन मूल्य ज्यादै न्यून भएको बताउनुभयो ।
यस वर्ष कञ्चनपुरस्थित मिल सञ्चालक तथा व्यवसायीले मनोमानी रूपमा गहुँ खरिद गर्दै आएको यहाँका कृषकको गुनासो छ । गत वर्ष चार हजार छ सयका दरले गहुँ खरिद गरेका यहाँका व्यवसायीले यस वर्ष चार हजार एक सय रुपियाँ प्रतिक्विन्टल मात्रै उपलब्ध गराउँदा घाटा सहनुपर्ने बाध्यता रहेको बेलौरी नगरपालिका–८, कलकत्ताका कृषक छेदुराम रानाले दुःखेसो पोख्नुभयो ।
बेदकोट नगरपालिका–७ स्थित गोदावरी मिलमा गहुँ बिक्रीका लागि पुग्नुभएका कृषक रामप्रसाद लम्सालले गत वर्षभन्दा पाँच सय कम मूल्यमा गहुँ बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । सरकारले न्यूनतम समर्थन मूल्य ज्यादै कम कायम गर्ने तथा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण यस वर्ष घाटा सहेर गहुँ बिक्री गर्नु परेको उहाँले बताउनुभयो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले गत वर्षभन्दा कम मूल्यमा गहुँ खरिद गर्नु परेको बेलौरीका व्यवसायी खेमराज चौधरीले बताउनुभयो । दुई बिघामा गहुँ खेती गर्दै आउनुभएका बेलौरीका कृषक मोतीलाल चौधरीले सरकारले बर्सेनि तोक्दै आएको समर्थन मूल्यले लगानीसमेत नउठ्ने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । बढ्दो महँगीका बिच कृषकको मेहनतको मूल्याङ्कन नै नगरी सरकारले न्यूनतम समर्थन मूल्य तोक्दै आएपछि सरकारी निकायलाई गहुँ बिक्री गर्न नसकिने कृषकको भनाइ छ ।
व्यवसायीले विगतका वर्षभन्दा यस वर्ष कम मूल्यमा गहुँ खरिद गर्न थालेपछि घाटा सहनुपर्ने बाध्यता रहेको गुनासो कृषकको छ ।