• ३० वैशाख २०८३, बुधबार

गुल्मीमा ‘विपद् तथा राहत वितरण मापदण्ड २०८१’ सम्बन्धी अन्तरक्रिया

blog

रमेश विश्वकर्मा
गुल्मी, वैशाख ३० गते।
गुल्मीको तम्घासमा ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड २०८१’ सम्बन्धी अन्तरक्रिया गरिएको छ। गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा यस जिल्लाका प्रमुख जिल्ला अधिकार बद्रीनाथ गैह्रेको अध्यक्षतामा भएको अन्तरक्रियमा निजी आवास पुनस्निर्माणमा देखिएका समस्याको सहजीकरण गर्ने विषयमा छलफल गरिएको थियो।

स्थानीय तहमा राहत वितरण र सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र विपद्मैत्री बनाउन सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको हो। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, विपद फोकल पर्सन, सुरक्षानिकायका प्रमुख, विपदका क्षेत्रमा काम गर्न संस्थाहरुको सहभागिता रहेको अन्तरक्रियामा यस जिल्लामा निजी आवास पुनर्निर्माणमा देखिएका समस्याको सहजीकरणका लागि छलफल गरिएको हो।

विपद्को समयमा तत्काल राहत नआउँदा कार्यान्वयनमा समस्या भएको स्थानीय तहले गुनासो गरेका थिए। त्यसैगरी अन्तरक्रियमा सहभागीले निजी आवास पुनर्निर्माणमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समयमै समस्या सम्बोधन गरिदिन माग गरेका छन्। प्रमुख जिल्ला अधिकारी गैह्रेले जिल्लामा विपद व्यवस्थापन तथा निजी आवास पुनर्निर्माणमा रहेका समस्या जानकारी गराउनुभयो।

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा स्थानीय तहहरुले प्राथमिकता दिन आग्रह गर्नुहुँदै उहाँले प्राविधिक समस्या तत्काल सम्बोधन गरिदिन गृह मन्त्रालय र प्राधिकरणलाई अनुरोध समेत गर्नुभयो। रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले विपद् जोखिम न्यूनीकरणमा हुने ढिलासुस्ती र झन्झटलाई हटाउन जरुरी रहेको बताउनुभयो। उहाँले उद्धार र राहत कार्यमा तत्काल सहयोग पुर्‍याउन आवश्यक रहेको बताउनुभयो।