पञ्चकोशी समाचारदाता
पञ्चकोशी (दैलेख), वैशाख ३० गते । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्मुकाधममा रहेको जयदेव माध्यमिक विद्यालय लामो समयदेखि राजनीतिक विवाद र प्रशासनिक अन्योलको सिकारमा परेको छ । राजनीतिक विवादका कारण उक्त विद्यालयको अवस्था जीर्ण हुँदै जाँदा विद्यार्थीको सुरक्षामा पनि जोखिम बढेको छ ।
विद्यालयको पुरानो ढुङ्गामाटो र पत्थरले छाएको भवन पूर्ण रूपमा जीर्ण बनेको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद शर्माले बताउनुभयो । उहाँले केही समयअघि ‘रेक्ट्रोफिटिङ’ प्रविधिमार्फत करिब १५ लाख रुपियाँ खर्च गरेर मर्मत गरिए पनि भवन प्रयोगयोग्य बन्न नसकेको बताउनुभयो । उहाँले उक्त पुरानो भवन भत्काएर सोही स्थानमा नयाँ भवन निर्माण गर्न सङ्घीय सरकारबाट एक करोड ७५ लाख रुपियाँ बजेट विनियोजन भई ठेक्का प्रक्रियासमेत सम्पन्न भइसकेको बताउनुभयो । उहाँले पुरानो भवन हटाउनुअघि त्यसको प्राविधिक मूल्याङ्कन आवश्यक पर्ने भएकाले विद्यालय व्यवस्थापन समिति र प्रशासनले निर्णयसहित नगरपालिकालाई पत्राचार गरिसकेको तर नगरपालिकाबाट प्राविधिक खटाएर आवश्यक मूल्याङ्कन तथा लगत सङ्कलनको काम अघि नबढाइएको आरोप लगाउनुभयो ।
उहाँले विद्यालयसँग पर्याप्त विद्यार्थी सङ्ख्या भए पनि भौतिक संरचनाको अभावले समस्या बढिरहेको बताउनुभयो । उहाँले आएको बजेट समयमै कार्यान्वयन हुन नसके विद्यालयले ठुलो अवसर गुमाउने चिन्ता व्यक्त गर्नुभयो । प्रधानाध्यापक शर्माले भन्नुभयो, “हामीले सम्बन्धित सबै निकायमा समन्वय र पहल गरिरहेका छौँ । तर नगरपालिकास्तरबाट आवश्यक सहयोग नहुँदा काम रोकिएको छ ।”
भवन निर्माणमा कुनै अवरोध नगरेको चामुण्डा बिन्द्रासैनी नगरपालिका उपप्रमुख मनसरा कुमारी शर्माले बताउनुभयो । उहाँले विद्यालयको भौतिक संरचना जीर्ण भएकाले भवन निर्माणका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले भवन जीर्ण भएपछि नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो । विद्यालयमा बेला बेला विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक कर्मचारी व्यवस्थापन तथा भवन निर्माणका विषयलाई लिएर विवाद हुँदै आएको छ ।