बेनी समाचारदाता
बेनी, वैशाख ३० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले मगर खाम भाषा विद्यालयस्तरमा पठनपाठन सुरु गराउन प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ । मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित एक सातासम्म सञ्चालन हुने तालिममा गाउँपालिकाका १५ विद्यालयका शिक्षकको सहभागिता रहेको छ । पुनमगर समाज रघुगङ्गाका अध्यक्ष टीका पुर्जा पुनमगरले मगर भाषाविज्ञ कर्णबहादुर बुढामगरले खाम भाषासम्बन्धी प्रशिक्षण दिनुहुने जानकारी दिनुभयो ।
सयौँ वर्षदेखि हराएर जाने अवस्थामा पुगेको मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणका लागि विद्यालयका शिक्षकलाई प्रशिक्षकका रूपमा तयार गर्न तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । सो कार्यक्रममा रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मगर खाम भाषाको पुस्तक पनि विमोचन गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष भण्डारीले मातृभाषामा अध्ययन गर्न पाउने संवैधानिक अधिकारलाई सुनिश्चित गर्दै मगर बाहुल्य बसोबास रहेका बस्तीमा स्थानीय पाठ्यक्रममा मगर खाम भाषासम्बन्धी पढाइ हुने व्यवस्था गर्न लागिएको बताउनुभयो ।
नेपाल पुनमगर समाजका केन्द्रीय अध्यक्ष खमबहादुर गर्बुजा पुनमगरले सङ्घीय र प्रदेश सरकारले मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने गरी ऐन पारित गरिसकेकाले स्थानीय तहले स्थानीय भाषामा पाठ्यक्रम तयार गरी लागु गर्नुपर्ने बताउनुभयो । उहाँले मगर समुदायको भाषा, लिपि र संस्कृति लोप भएर जाने अवस्थामा रहेको सन्दर्भमा रघुगङ्गा गाउँपालिकाले देखाएको सक्रियता सकारात्मक र प्रशंसनीय छ भन्नुभयो ।