अर्जुन कार्की
काठेखोला (बागलुङ), वैशाख ३० गते । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मङ्गलबार मोतियाविन्दु भएका ४२ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
अस्पतालको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको शल्यक्रियामा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका ४२ जना मोतियाविन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको अस्पतालका कन्सल्टेन्ट अप्थाल्मोलोजिस्ट डा। कुशल गुरुङले बताउनुभयो ।
धौलागिरि प्रादेशिक अस्पताल बागलुङमार्फत बागलुङका विभिन्न स्थानसहित पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालन गरिएको आँखा परीक्षण शिविरबाट शल्यक्रिया आवश्यक पर्ने बिरामीको पहिचान तथा लगत सङ्कलन गरिएको थियो । सोही आधारमा बिरामीलाई अस्पतालमा ल्याएर मङ्गलबार शल्यक्रिया गरिएको हो ।
हिमालयन आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा शल्यक्रिया गरिएको हो । हिमालयन आँखा अस्पताल पोखराकी कन्सल्टेन्ट अप्थाल्मोलोजिस्ट डा। नारायणी भट्टराई रोकाको संयोजकत्वमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको कन्सल्टेन्ट अप्थाल्मोलोजिस्ट डा। गुरुङले जानकारी दिनुभयो ।