• १ जेठ २०८२, बिहिबार

गाउँमा दुर्गा पूजाको रौनक

blog

बुटवल समाचारदाता 

बुटवल, कात्तिक ३ गते ।  यतिबेला रुपन्देहीका गाउँ गाउँमा दुर्गा पूजाको रौनकले दसैँ आएको छनक दिएको छ । जिल्लाको दूरदराजका गाउँबस्तीसम्मै बिहान र साँझमा दुर्गा देवीका भजन गुन्जिएका छन् । तराईमा यो वर्ष दुर्गा पूजाको रौनक गत वर्षभन्दा धेरै बढेको छ । 

थारू कल्याणकारी सभा रुपन्देहीका सदस्य सूर्यनारायण चौधरीले तराईका आदिवासी थारू समुदाय र मधेशी समुदायको बसोबास रहेको गाउँमा दुर्गा पूजाको रौनक बढेको बताउनुभयो । तराईका गाउँमा घटस्थापनाको दिन दुर्गा स्थापना गरेर दसैँको १० दिनसम्म दुर्गा पूजा गर्ने परम्परा वर्षाैंदेखि चलिआएको परम्परा हो । नवरात्रको नौ दिन देवी दुर्गाका मूर्तिसँगै गणेश, कार्तिकेय, सरस्वती र लक्ष्मीका मूर्ति स्थापना गरी पूजा गर्ने मान्यता तराईमा छ । 

रुपन्देहीको कोटिहवा, मधौलिया, टिकुलीगढ, छपिया, भगलापुर, पुरैनी, फर्साटिकर, मानपकडी, सिसै, लेडुवा, भडछा, रुद्रपुर, सूर्यपुरालगायतका स्थानमा दुर्गा मूर्ति स्थापना गरेर दुर्गा पूजा गर्ने गरिएको छ । सैनामैनाका केवलप्रसाद थारूले दुर्गा मूर्ति स्थापना गरेपछि गाउँकै मान्छे जम्मा भएर नाचगान गर्ने र रमाइलो गर्ने चलन रहेको भयो । 

उहाँले तराईमा वर्षौंदेखि बिहान र साँझमा पूजा गर्ने र दुर्गाका भजनमा नाचगान गर्ने परम्परा रहेको र त्यो परम्परा अहिले झनै बढेको बताउनुभयो । यसै गरी दुर्गा स्थापनाको सातौँ दिन सप्तमीको दिन दुर्गाको मुख खोल्ने –पट्टी) खोल्ने प्रचलन  छ । घटस्थापनाको दिन ल्याइने दुर्गा माता मूर्तिको मुख बन्द गरिएको हुन्छ र सप्तमीका दिन मात्र खोलिन्छ । यसरी मुख खोल्दा पैसा बढाबढ गरेर जसले बढी पैसा कबुल गर्छ उसैले पट्टी खोल्ने परम्परा पनि छ । सैनामैनाकै घनश्याम चौधरीका अनुसार सप्तमीको साँझ भक्तजन भेला भएर दुर्गाको मुख खोल्ने वर्षौंदेखिको परम्परा रहेको छ । 

पछिल्लो समय जसले धेरै पैसा दिन्छ उसैले पहिलो पटक दुर्गाको मुख हेर्ने (पट्टी खोल्ने) गरिँदा ऐतिहासिक दुर्गा पूजाको परम्परा र सांस्कृतिक महìवलाई पैसासँग साटिएकोमा धेरैको चित्त बुझेको छैन । चौधरीले वर्षौंदेखिको दुर्गा माताको पूजा र भजन परम्परामा बिचमा पैसा घुसाएर दुर्गा पूजाको सांस्कृतिक महìवलाई ओझेल बनाउन खोजिएको बताउनुभयो ।