• २० असोज २०८१, आइतबार

परराष्ट्रमन्त्री साउद अमेरिका जाँदै

blog

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद

 काठमाडौँ, कात्तिक २ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले यही कात्तिक ८ देखि १६ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुहुने भएको छ । 

 मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिनुभयो । 

आगामी मङ्सिर १९ र २० मा संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानामा हुने युएन पिस किपिङ मिनिस्ट्रियल बैठकमा सहभागी हुन उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरेको छ । 

यस्तै, यही कात्तिक २१ गतेदेखि मङ्सिर ६ गतेसम्म फ्रान्सको पेरिसमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय शैक्षिक,वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ४२ औँ महासभामा भाग लिन शिक्षा तथा विज्ञान प्रविधिमन्त्री अशोककुमार राई र सचिव सुरेश अधिकारी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ । 

यसैगरी, बङ्गलादेशको ढाकामा यही कात्तिक ११ देखि १३ गतेसम्म हुने निर्वाचनसम्बन्धी सेमिनारमा सहभागी हुन निर्वाचन आयुक्त सगुनशम्शेर जबराको भ्रमण स्वीकृत गरिएको छ ।    

मन्त्री शर्माका अनुसार, अन्तर्राष्ट्रियस्तरको बालबालिका, विकास र शान्तिसम्बन्धी सम्मेलन आयोजना गर्न लुम्बिनी प्रदेश सरकारलाई सैद्धान्तिक स्वीकृति दिइएको छ । 

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सचिव देवकुमारी गुरागाईँलाई यही कात्तिक २९ देखि मङ्सिर १ सम्म थाइल्याण्डको बैंककमा हुने सम्मेलनमा भाग लिन अनुमति प्रदान गरिएको छ । 

यसैगरी, थाइल्याण्डमा आयोजना हुने एसिया प्रशान्त क्षेत्रको इनर्जी फोरममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ । 

यो पनि पढ्नुहोस

महासचिव गुटेरेस १२ गते नेपाल आउनुहुँदै

मन्त्रिपरिषद् बैठकका ३२ निर्णय