• १२ साउन २०८१, शनिबार

इजरायलबाट शव ल्याउन केही समय लाग्छ : परराष्ट्र मन्त्रालय

blog

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल

काठमाडौं, असोज २४ गते । इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाइ हुने भएको छ ।

परराष्ट्र मन्त्रालयले बुधवार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताउनु भयो । 

उहाँले उनीहरुको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरु इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको स्पष्ट पार्नुभयो । 

उहाँका अनुसार नेपाल फर्कन चाहनेहरुलाई ल्याउन बुधवार (आज) राति नेपाल एयरलाईन्सको वाइडबडी विमान त्यसतर्फ पठाइनेछ । इजरायलमा नेपालको नियमित उडान पनि भएकाले आउन इच्छुक नेपालीहरुका लागि त्यहाँस्थित नेपाली दुतावासले सहजीकरण गर्ने पनि प्रवक्ता लम्सालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘अज्ञात अवस्थामा रहनु भएका विपिन जोशीको हकमा इजरायल सरकारको समन्वयमा निरन्तररुपमा उच्च प्राथमिकताका साथ खोजी गर्ने कार्य जारी छ ।

यो पनि पढ्नुहोस

सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रुपमा राखिएको छ । मृतकहरुको शव यथाशीघ्र छिटो नेपाल ल्याउने गरी हामीले समन्वय र सहकार्य गरिरहेका छौं । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया सकिना साथ उच्च प्राथमिकताका साथ शवहरु नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने कार्यमा हामी क्रियाशील छौं । २८८ जना भन्दा बढीले नेपाल फर्कन चाहनुभएको छ । नेपाल फर्कन चाहनु हुनेहरुका लागि नेपाल एयरलाइन्सको २५० सिट क्षमता भएको बाईडबडी विमान आज राति नै इजरायल प्रस्थान गर्दैछ । इजरायलबाट नियमित वायुसेवा पनि चलिरहेकाले फर्कन इच्छुक नेपालीहरुलाई नेपाली दुतावासले सहजीकरण गर्ने व्यहोरा पनि म यहाँहरुलाई अवगत गराउन चाहन्छु ।’’

प्रवक्ता लम्सालले घाइते अवस्थामा रहेका चार जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएको पनि जानकारी दिनुभयो । अन्य २ जनाको भने उपचार जारी रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेपत्ता एक जनाको खोजीमा सम्पूर्ण सामथ्र्य परिचालन गरिएको पनि प्रवक्ता लम्सालले बताउनु भयो ।