काठमाडौँ, असोज १६ गते । कदम थिएटरको पाङ्वाइला हिममा नाटक ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन हुने भएको छ । दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मूलकाहरूको जीवन भोगाइलाई लिएर साहित्यकार इन्द्रबहादुर राईले कथा लेख्नुभएको थियो । सोही कथालाई नाटकीकरण गरेर रङ्गकर्मी जीवन बरालको निर्देशनमा कदम थिएटरको पहिलो ब्याचका कलाकारले अभिनय गर्दै छन् । कदम थिएटरले गएको जेठ २४ गते देखि रङ्गमञ्चको आधारभूत कार्यशाला सञ्चालन गरेको थियो । सोही कार्यशालाको अन्त्यमा नाटक ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ को मञ्चन गर्नका लागि पूर्वअभ्यास भइरहेको कदम थिएटरका महासचिव कमन देवानले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “नाटक हाम्रै परिवेशको नियति, बाध्यता र दुःखको कथा हो । हामीले भोगेका, भोग्न परेका शरणार्थी व्यथाभित्र कतै न कतै जयमायाहरू बाँचिरहेकै छन् । पूर्वी नेपालका बेलडाँगी, पथरी, शनिश्चरे अझै यी व्यथाका साक्षी छन् ।”
नाटकमा अनिल दुलाल, आयुष खतिवडा, पारुमा राई, पुनम भुजेल, पुष्प राई, भरत मगर, नवीन भण्डारी, नवीन रिजाल, रश्मि उप्रेती, रोशन मुर्मू, विवेक राउत र सञ्चिता लामाले अभिनय गर्नुभएको छ भने नाट्य आलेख रङ्गकर्मी सिजन दाहालले तयार पार्नुभएको हो । कदम थिएटरका कलाकार मनिक शङ्करले मञ्च परिकल्पना गर्नुभएको छ । कार्यशालाका सहभागीलाई कलाकार बनाएर नाटक मञ्चन गर्नसम्म आइपुग्दा मौसम राना राई, सुवास खरेल, चोमु शेर्पा खुसी ‘पाण्डेय’, सुमन कुइँकेल, कृष्ण काश्यप, राजेन्द्र अधिकारी, राजा श्रेष्ठ, दीपक खरेल, मनिक शङ्करलगायतले कार्यशालाको सहजीकरण गर्नुभएको थियो ।
कार्यशालाका मुख्य सहजकर्ता रङ्गकर्मी जीवन बरालका अनुसार नाटकको कथालाई नाटकका रूपमा रूपान्तरण गरिरहँदा अहिलेको समयमा हाम्रो समाजले भोग्दै गरेको नियतिलाई छुने गरी तयार पारिएको छ ।