नवीनराज कुइँकेल
लमजुङ, वैशाख २७ गते । मनाङमा घर मर्मत गर्ने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । मनाङ ङिस्याङ गाउँपालिका –५ भ्राकामा घर मर्मत गर्ने क्रममा तेस्रो तलाबाट खसेर मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका –११ निवासी करिब ४० वर्षीय सुरेश विक रहेको मनाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब ९ बजे स्थानीय कालु घलेको घर मर्मत गर्ने क्रममा झ्याल राख्न लाग्दा विक अचानक चिप्लिएर तेस्रो तलाबाट खस्नुभएको थियो । गम्भीर घाइते विकको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे स्थानीयले बिहान १०ः२० बजे इलाका प्रहरी कार्यालय हुम्डेलाई जानकारी गराएका थिए । घटनास्थल इलाका प्रहरी कार्यालय हुम्डेबाट करिब ५ किलोमिटर पश्चिममा पर्छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक सुमित कुशवाहका अनुसार शव परीक्षणका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङ पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।