• २७ वैशाख २०८३, आइतबार

श्रीलङ्कामा ऊर्जा सङ्कटबिच बिजुली महसुल वृद्धि

blog

कोलम्बो, वैशाख २७ गते । मध्यपूर्वमा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । सार्वजनिक उपयोगिता आयोगका अनुसार सोमबारदेखि लागु हुने नयाँ दर अनुसार मासिक १८० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने उपभोक्ताले १८ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्ने छ । 

सोभन्दा कम खपत गर्ने उपभोक्तामा भने तत्काल असर पर्ने छैन । आयोगले जारी गरेको विज्ञप्ति अनुसार यो वृद्धि उद्योग, होटल, व्यवसाय, सरकारी कार्यालय तथा धार्मिक संस्थामा लागु हुने छ । यो निर्णय पछिल्ला केही महिनामा गरिएको ऊर्जासम्बन्धी श्रृङ्खलाबद्ध वृद्धि पछिको अर्को कदम हो । गत महिना मात्र पनि बिजुली महसुल ४० प्रतिशतले बढाइएको थियो ।

इन्धन मूल्य र महँगाइ पनि बढ्यो

ऊर्जा आपूर्तिमा अवरोधका कारण श्रीलङ्काले इन्धन मूल्य ३५ प्रतिशतभन्दा बढीले बढाएको छ र केही क्षेत्रमा रासनिङसमेत लागु गरेको छ । सरकारी तथ्याङ्क अनुसार महँगाइ बढेर अप्रिलमा ५.४ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनाको तुलनामा उल्लेखनीय वृद्धि हो ।

आर्थिक सङ्कटबाट पुनः स्थापनाको प्रयास

श्रीलङ्का सन् २०२२ मा विदेशी मुद्रा सङ्कटका कारण ठुलो आर्थिक सङ्कटमा परेको थियो, जसले खाद्यान्न, इन्धन र औषधी आयातमा गम्भिर असर पारेको थियो । गत वर्ष आएको ठुलो आँधीलेसमेत देशलाई थप प्रभावित बनाएको थियो, जसमा सयौंको मृत्यु र ठुलो भौतिक क्षति भएको थियो । देशले सन् २०२३ देखि अन्तर्राष्ट्रिय मुद्रा कोषको सहायता कार्यक्रममार्फत आर्थिक स्थायित्व ल्याउने प्रयास गरिरहेको छ । तर उच्च ऊर्जा मूल्य र बाह्य सङ्कटले पुनः उत्थान प्रक्रियामा चुनौती थपिरहेका छन् । रासस/एएफपी