गोरखापत्र समाचारदाता
ललितपुर, वैशाख २७ गते । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०६ औं जन्मजयन्ती वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा मनाइँदैछ ।
सो अवसरमा नेपालभाषा साहित्य दबू हलिं नेवाः दबू साहित्यिक कवःको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा ‘नेपाल भाषामा सत्यमोहन जोशीको साहित्यिक योगदान’ विषयमा चर्चा गरिएको छ ।
लोककवि राजभाइ जकःमिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्जना ताम्राकार, मिमला शर्मा, शाक्य सुरेन, बिमलप्रभा बज्राचार्य, दिब्या ताम्राकार लगायत साहित्यकारले जोशीका कृति भित्रका गीत, बुद्ध भजन, चराले गाएको गीतजस्ता साहित्य वाचन गर्नुभयो ।
त्यसैगरी मदनसेन बज्राचार्य, अनुराज जोशी, डा. पुष्पराज राजकर्णिकारले जोशी, लोकसाहित्य परिषद्का उपाध्यक्ष लक्ष्मीशोभा शाक्य र पौभा सायमिले जोशीका काव्य, महाकाव्यजस्ता विविध कृतिहरूको बारेमा चर्चा परिचर्चा गर्नुभयो ।