• २७ वैशाख २०८३, आइतबार

भिरमौरीको महमाथि सिकारीको बढ्दो निशाना

blog

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, मिप्रा गाउँको छिप्ली भिरमा मह सिकार गर्दै स्थानीय । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, वैशाख २७ गते । कहाली लाग्दो बडेमाको भिर । हेर्दै टोपी खस्ने छङ्गाछुर ठाडो भिरको कापाहरूमा लहरै रहेका भिरमौरीका गोलाहरू छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, मिप्रागाउँको छिप्ली भिरको पहरामा रहेका भिर मौरीको स्थानीयले सिकार गरेका छन् ।

ज्यानै जोखिममा राखेर डोरीमा झुन्डिएर महको सिकार गर्नु उनीहरूको पेसाजस्तै हो । यस्तो डरलादो काम हेर्न आन्तरिक तथा बाह्य पर्यटक पनि आकर्षित हुनेगरेका छन् ।  

कसरी गरिन्छ सिकार ?

मह सिकार गर्नुपूर्व भिरमौरी रहेको पहराको सिरानमा वन देवताको पूजा गर्ने परम्परा छ । पूजाको काम सकिएपछि मध्यान्ह लुठासहितको डोरी, टाँगा र डालो लिएर मह सिकारीहरू जङ्गलको पहरातिर लाग्छन् । 

मौरी रहेको भिरको किनारमा एक समूहले चिसो र काँचो स्याउला बालेर धुँवाको मुस्लो निकाल्छन् । अनि भिरका चट्टानमा रहेका दर्जनौं गोलाका लाखौं भिर मौरीहरू गोलै छोडेर भुन्भुनाउन थाल्छन् । आफ्नो टाउकै वरिपरि अरिङ्गाल जत्रा मौरीहरू भुन्भुनाउँदा पनि न सिकारी आत्तिन्छन् न त सहयोग गर्न पुगेका गाउँले नै ।

त्यत्रो छङ्गाछुर भिरमा लुठा (भर्‍याङ) गाँसेको सय हातको डोरी मौरीको गोलामै ठोस्सिने गरी झुण्डाइन्छ, अनि त्यसैमा अडिएर सिकार खेल्न थाल्छन् मह सिकारीहरू । मह सिकारीलाई केही मौरीले घेर्नुका साथै चिल्न पनि थाल्छन् । भुँइमा बस्ने र सिकार गरेको हेर्नेको मुटु काँपे पनि सिकारीहरू भने कत्ति विचलित नभई मौरीको चाकामाथि टाँगाको निसाना लगाइ राख्छन् । 

पहराको सिरानमा रुख र खम्बा गाडेर डोरी बाँधिन्छ । दुई वटा डोरीमा लुठा (बाबियोको डोरीमा काठको डण्डी बाँधेर बनाइएको भर्‍याङ) गाँसिन्छ र डोरी झारिन्छ । डोरीको भर्‍याङमा सिरान, बिच र पुछारमा गरी ३ जना मह सिकारीहरू रहन्छन् । 

काँचो स्याउलाको धुँवाले अत्तालिएर मौरी भाग्न थालेपछि डोरीको भर्‍याङको पुछारमा रहने सिकारीले डोरीमा झुण्डाइएको डालोलाई निगालोको टाँगाले मौरीको चाकानजिक लैजान्छन् । बिचमा रहेका सिकारीले चाकालाई धारिलो टाँगाले काट्न थाल्छन् । शिरानमा रहेका अर्का सिकारीले डालोमा झरेको चाका तानेर लैजाने गर्छन् । मह सिकारमा दिनभर यस्तै प्रकारको प्रक्रिया चलिरहन्छ । 

तीन खण्डमा रहने मौरीको चाकामा सिरानमा मह, बिचमा मौरीको दिसा र पुछारमा बच्चा रहने मह सिकारी टेकबहादुर गुरुङले बताउनुभयो । गुरुङका अनुसार पहिला बच्चा र दिसा भएको भाग दाविलोले घोचेर माथि लगिन्छ अनि बल्ल मह काड्न सुरु हुन्छ । 

अनकन्टार भिरमा डोरीको भर्‍याङमा हल्लिरहेका मह सिकारीहरूलाई फेदमा बसेका अन्य सहयोगीहरूले इसारा गर्ने गर्दछन् । इसाराका लागि डोरी हल्लाउने र ‘कोइतेव–कोइतेव’ (घोच–घोच), ‘तोचन–तोचन’ (माथि लैजाउ) भनेर इशारा गर्ने र सिकारीहरू पनि सोही अनुसार काम गर्ने स्थानीय प्रदीप गुरुङले बताउनुभयो । 

पर्यटक आकर्षित 

विश्वमा नै विरलै हुने यस प्रकारको मह सिकार लमजुङको कहाली लाग्दो भिर पहराहरूमा अत्यन्तै मशहुर मह सिकारीहरूले गर्दैआएका छन् । लमजुङको घनपोखरा,  सिउरुङ, ताघ्रिङ, भुजुङ, दुधपोखरी, बन्सार, ढोडेनी लगायतका स्थानमा वर्षैसाल भिर मौरीको सिकार गरिन्छ । 

‘हनी हन्टिङ’ अर्थात् मह सिकार आजभोलि पर्यटकका लागि नौलो र आकर्षणको विषय बन्दैगएको छ । मह सिकार गर्ने प्रचलन धेरै पुरानो रहे पनि पर्यटकहरू आकर्षकका लागि ‘हनि हन्टिङ फेस्टिवल’ को रूपमा पहिलो पटक २०६३ सालमा लमजुङको ताघ्रिङस्थित काप्रे भिरमा गरिएको थियो । त्यसपछि धेरै गाउँहरूमा पर्यटक आकर्षणका रूपमा मह सिकार हुने गरेको छ ।

आङै सिरीङ्ग हुने भिरमा निडरका साथ मह सिकारीहरूले मह काढेको अत्यन्तै रमणीय दृश्य कहिल्यै नदेखेकाहरूका लागि अविस्मरणीय र रोचकको विषय हुनेगरेको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।