• २७ वैशाख २०८३, आइतबार

ढल्केबरमा सुकुमबासीको प्रदर्शन

blog

प्रदर्शनमा सहभागी सुकुमबासीहरु । तस्बिरः विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, वैशाख २७ गते । धनुषाको ढल्केबरमा सुकुमबासीले भूमि तथा आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च जिल्ला कार्यसमिति धनुषाको नेतृत्वमा सुकुमबासीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका सहभागीले “उठीवास बन्द गर”, “भूमि र आवासको अधिकार सुनिश्चित गर” तथा “जीवन र जीविकाको अधिकार सुनिश्चित गर” लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्दै ढल्केबरस्थित महेन्द्र पार्कमा पुगेर कोणसभा गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियारले सुकुमबासी बस्तीमा डोजर नचलाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले लामो समयदेखि बसोबास गर्दैआएका सुकुम्बासीलाई व्यवस्थापन गरी बसेकै जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

उहाँले सरकारले सुकुमबासी व्यवस्थापनका लागि लिएको नीति सकारात्मक भए पनि व्यवस्थापनभन्दा पहिले उठीवास गराउने कार्य उचित नभएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सुकुमबासीलाई हटाउनुभन्दा पहिले बसोबास गरिरहेको जग्गाको लालपुर्जा उपलब्ध गराउन सरकारलाई हाम्रो आग्रह छ ।” 

कोणसभामा मिथिला नगरपालिका –३, दिनाभद्री सुकुमबासी टोलका गोबिन्द सदाले सुकुमबासी बस्तीमा डोजर नचलाउन र स्थायी बसोबासको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले वर्षौंदेखि बसोबास गर्दैआएका परिवारलाई विस्थापित नगरी अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।