• २७ वैशाख २०८३, आइतबार

रौतहटमा भूमिहीन तथा सुकुम्बासीको प्रदर्शन

blog

भूमि र आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै विरोध प्रदर्शनमा उत्रेका भूमिहीन तथा सुकुम्बासी परिवार । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 

रौतहट, वैशाख २७ गते ।राष्ट्रिय भूमि अधिकार मञ्च जिल्ला कार्यसमिति रौतहटले आइतबार चन्द्रनिगाहपुरमा प्रदर्शन गरेको छ।भूमि र आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै भूमिहीन तथा सुकुम्बासी परिवारले प्रदर्शन गरेका हुन् ।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरबाट सुरु भएको र्‍याली  बजारका विभिन्न भाग परिक्रमा गर्दै  कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनका क्रममा सहभागीले “भूमि हाम्रो अधिकार हो”, “डोजर आतङ्क बन्द गर”, “सुकुम्बासीलाई आवास सुनिश्चित गर” लगायतका नारासहित सरकारको ध्यानाकर्षण गराएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय भूमि अधिकार मञ्च रौतहटका जिल्ला अध्यक्ष अनुप  माझीले सरकारको  डोजर अभियानका कारण भूमिहीन तथा सुकुम्बासी परिवार त्रसित बनेको बताउनुभयो ।

वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई जबरजस्ती हटाउने कार्य मानवअधिकार विपरीत भएको उहाले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले हाम्रो भूमि अधिकार  हनन गर्न मिल्दैन । हाम्रो आवासको अधिकार सुनिश्चित हुनु पर्छ  ।”

कार्यक्रममा वक्ताले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी सुरक्षित बसोबास तथा लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्  ।

भूमि र आवासको अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत सहभागीले दिएका छन् । राज्यले भूमिहीन समुदायको समस्या दीर्घकालीन रूपमा समाधान गर्न ठोस नीति ल्याउनुपर्ने विरोध प्रदर्शनका सहभागीले माग गरेका छन् ।