• १३ पुस २०८१, शनिबार

आमा (कविता)

blog

आमा तिमी हौ धरती समान

सन्तानका निम्ति महान् मान

आमा जहाँ स्वर्ग त्यहीँ रहन्छ

आहा ! त्यहाँ प्रेमसुधा बहन्छ ।। १ ।।


आमा कुनै रूप न हुन् न वर्ण 

आमा कुनै जात न हुन् न धर्म 

हुन्, सिर्जनाकी रसिली मुहान

ब्रह्माण्डकै उच्च अशेष सान ।। २ ।।

 

आमा भए मात्र न सृष्टि हुन्छ 

र, सृष्टिको धार सधैँ बहन्छ 

शरीरका रूप त अन्त्य हुन्छन् 

परन्तु मातृत्व सधँै रहन्छन् ।। ३ ।।


हज्जार बाधा पनि को सहन्छ ?

जोभित्र मातामय भाव हुन्छ 

विराट् धर्तीसरि एक मात्र 

आमा त हुन् निश्छल, पूज्यपात्र  ।। ४ ।।


आमा उनै, तेज–कुमारी, तारा 

गौरी, भवानी अनि लक्ष्मी सारा

नाता तथा नामहरू अनेक 

मातृत्वको सार छ किन्तु एक ।। ५ ।।


जसको पनि हुन्छ यहाँ विकल्प

मातृत्व हो केवल निर्विकल्प 

प्राणीहरूका दिलका कुनामा 

होऊन् सधैँ पूजित पूज्य आमा  ।। ६ ।। 

लमजुङ