• १३ साउन २०८१, आइतबार

रौतहटमा तरकारीको भाउ आकासियो

blog

तरकारी ।

यादवराज पुरी
रौतहट, असोज १४ गते । 
चाडबाड नजिकिने क्रमसँगै रौतहटमा तरकारीको भाउ आकासिएको छ । हिन्दु नारीको महान् चाड तीजदेखि नै बजारमा तरकारीको भाउ दोब्बर नै वृद्धि भएको छ ।

वर्षातका कारण स्थानीयस्तरमा तरकारीको उत्पादन हुन नसक्नु तथा माग अनुसार आपूर्ति हुन नसक्नुले तरकारीको भाउ अकासिएको स्थानीय तरकारी व्यापारी बताउँछन् । स्थानीयस्तरमा तरकारी उत्पादन नभएका कारण अहिले हेटौँडा, वीरगन्ज र लालबन्दिको बजारबाट तरकारी ल्याउनु परेकाले पनि तरकारीको भाउ महँगो भएको चन्द्रनिगाहपुरका तरकारी व्यापारी तिलक साह बताउनुहुन्छ । उहाँका अनुसार खरिद दर नै बढी परेकाले तरकारीको बिक्री मूल्य पनि बढेको हो । 

स्थानीय हाट बजार प्रतिस्पर्धात्मक हुने हुँदा हाटमा तरकारी केही सस्तो र सहुलियत दरमा पाइन्छ तर अन्य समयमा चोक बजारका तरकारी पसलेले अत्यधिक महँगोमा तरकारी बिक्री गर्ने गरेको चन्द्रपुर नगरपालिका–६ का उपभोक्ता उमेश यादवले बताउनुभयो । 

तीज अघि प्रति किलो ८० रुपियाँ रहेको काउली आइतबार १२० रुपियाँ किलो भएको छ । यसैगरी, प्रति किलो ३० रुपियाँ रहेको भिन्डी ५० रुपियाँ किलो पुगेको छ । प्याज प्रति किलो ७० देखि ८० रुपियाँ रहेकोमा अहिले प्रतिकिलो १०० रुपियाँ पुगेको छ । २० रुपियाँमा पाइने एक मुठा रायोको सागको ४० रुपियाँ तिर्नु परेको उपभोक्ताहरूको गुनासो छ । गोलभेँडा ६० रुपियाँबाट १०० रुपियाँ पुगेको छ । यस्तै आलु, मुला, काँक्रो, बोडी लगायतका तरकारीमा ३० देखि ४० प्रतिशतले भाउ वृद्धि भएको तरकारी व्यापारीहरू नै बताउँछन् ।

स्थानीय व्यापारी जयराम साह भन्नुहुन्छ, ‘‘अत्यधिक वर्षातले जिल्लाको अधिकांश भाग डुबानमा परेको कारण तरकारी खेती पूर्णरुपले नष्ट भएको तथा डुबानकै कारण समयमा खेती गर्न नपाउँदा अन्य जिल्लाबाट तरकारी आयात गरी स्थानीय माग पुरा गर्नु पर्ने भएकोले तरकारीको भाउ अप्रत्यासितरुपमा बढेको हो ।’’

चाडबाडको बेला उपभोग्य वस्तुको मूल्यमा भएको वृद्धिले सबैभन्दा बढी समस्या न्यून आय भएका तथा गरिबीको रेखा मुनी रहेका उपभोक्तालाई परेको डुमरियाका ठेला व्यवसायी हरीनारायण लोहाले बताउनुभयो ।

यता वर्षातका कारण तरकारी खेती गर्न नसकेका स्थानीय तरकारी उत्पादक भने तरकारीको भाउ अकासिएको देख्दा ठुलो आम्दानीबाट वञ्चित हुनु परेको भन्दै थक्कथक्क मानेका छन् । वर्षातको समयमा संरक्षित तरकारी खेती गर्न नसकेका कारण उनीहरूले राम्रो आम्दानी गर्न नसकेको गुनासो समेत गरेका छन् ।