• २७ वैशाख २०८३, आइतबार

बाजुराका महिलालाई गहुँ काट्ने चटारो

blog

बाजुराका महिला गहुँ काट्दै । तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, वैशाख २७ गते ।
बाजुराका अधिकांश स्थानमा यतिबेला महिलाहरूलाई गहुँ काट्ने चटारो परेको छ । वैशाखको पहिलो सातादेखि पाक्न थालेका गहुँ वर्षाका कारण समयमै भित्र्याउन समस्या भएको थियो । केही दिनयता पानी पर्न रोकिएपछि यहाँका महिलाहरूलाई खेतबारीमा गहुँ काट्ने चटारो बढेको हो ।

बुढीनन्दा नगरपालिका–७ की देवी लुहारका अनुसार औँल क्षेत्रतिर चैतको अन्तिमदेखि वैशाख १५ गतेसम्म गहुँ पाक्ने गर्छ भने यहाँ चिसोका कारण वैशाखको अन्तिम र जेठको पहिलो हप्तासम्म पाक्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले खेतबारीमा गहुँ पाकेर पहेँलो भएका छन् । ती गहुँ काट्न रातदिन भ्याइनभ्याइ छ ।”

उहाँका अनुसार गहुँ काट्ने कामसँगै असारको रोपाइँका लागि धानको बेर्ना तयार गर्नुपर्ने भएकाले यतिबेला महिलाहरू दिनरात खेतबारीमै व्यस्त हुने गरेका छन् ।

बाजुराका अधिकांश ठाउँमा यतिबेला गहुँ पाकेर पहेँलो भएका छन् । खोला किनारमा सिँचाइ सुविधा भएका क्षेत्रमा चैत–वैशाखमा पाक्छ भने पाखो बारीमा लगाइएको गहुँ वैशाख–जेठमा पाक्ने गर्छ ।

यहाँका बुढीगङ्गा, त्रिवेणी, बडीमालिका, बुढीनन्दा, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, खप्तड छेडेदह लगायतका क्षेत्रमा गहुँ खेती राम्रो हुने गरेको छ ।

सबैभन्दा बढी बुढीगङ्गाका साविकका बह्रतोला, कुल्देवमाण्डौ, बाह्रविस तथा त्रिवेणीको कैलाशमाण्डौमा गहुँ खेती राम्रो हुने गरेको छ ।

यहाँका किसानहरूले हाल पासाङल्हामु, डब्लुके–१४४, डाँफेमुनाल र स्वर्गद्वारी जातका गहुँ लगाउने गरेका छन् । अधिकांश किसान भने पुरानो स्थानीय जातकै प्रयोग गर्दै आएका छन् ।

बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये करिब २२ हजार हेक्टर मात्र खेतीयोग्य छ । त्यसमा पनि ५ हजार २ सय ३५ हेक्टरमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ ।

गहुँ हिउँदे बाली भएकाले हिउँदमा वर्षा भए उत्पादन बढ्छ, नभए घट्ने गर्दछ । उन्नत जातका बीउ प्रयोगले पनि उत्पादनमा वृद्धि भएको कृषि प्राविधिकहरूको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार जिल्लामा करिब १० हजार ४६० हेक्टरमा गहुँ खेती हुने गरेको छ, जसबाट वार्षिक करिब १७ हजार ७८२ मेट्रिक टन उत्पादन हुने अनुमान छ ।