• ९ मंसिर २०८१, आइतबार

साइकल संस्कृतिका लागि चित्रकला

blog

काठमाडौँ, असोज १४ गते । नेपालका वरिष्ठ कलाकारहरूको समूहले साइकल संस्कृति प्रवर्धनलाई सहयोग पुर्‍याउने उद्देश्यले चित्रकला कार्यशालामा सहभागी हुनुभएको छ । 

साइकल कल्चर कम्युनिटीद्वारा साइकल संस्कृति अभियानका लागि शनिबार राजधानीमा आयोजित चित्रकला कार्यशालामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिहरू किरण मानन्धर, रागिनी उपाध्याय, केके (कान्छाकुमार) कर्माचार्य र दीपेन्द्र बनेपालीलगायतका ३२ जना कलाकारले चित्र बनाउनुभएको हो । 

कम्युनिटीका अध्यक्ष एवं यस चित्रकला कार्यशालाका संयोजक तारालाल श्रेष्ठले विशेष गरी राजधानीलगायतका सांस्कृतिक सहरमा साइकल नीति नै बनाएर साइकल चढ्न प्रेरित गर्न बौद्धिक तवरले पहल गर्नका लागि चित्रकला कार्यशालाको आयोजना गरिएको बताउनुभयो ।

उहाँले ट्राफिक जाम, धुलो, धुवाँको चपेटामा परेको कलाको सहरलाई साइकलमैत्री बनाउन हाल नीतिको अभाव रहेकाले यस्तो नीति बनाउन कम्युनिटीलगायत १५० संस्थाले मुद्दासमेत दायर गरेको जानकारी दिनुभयो ।

संयोजक श्रेष्ठले पेट्रोलियम पदार्थको आयातका लागि बर्सेनि देशबाट बाहिर जाने मुद्राको सञ्चितिसहित स्वच्छ वातावरणका लागि साइकल कल्चर कम्युनिटीले चलाएको अभियानबारे सातै प्रदेशमा जनचेतनात्मक कार्यक्रम गरिने बताउनुभयो । आयोजकका अनुसार चित्रकला कार्यशालाबाट सिर्जना भएका करिब ५० देखि ७० वटा चित्रकलाको प्रदर्शनीमा राखिने छन् । प्रदर्शनीमा बिक्री भएका चित्रको रकम कलाकार र अभियानका लागि उपयोग गरिने योजना रहेको छ ।