राजन रावत
हुम्ला, वैशाख २७ गते । वर्षेनी ठुलो मात्रामा चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै हुम्ला भित्रिने चिनियाँ मदिरा यस वर्ष नेपाल भित्रिन नदिने सहमति भएको छ । नेपाली सुरक्षा निकायको विशेष आग्रहमा चिनियाँ सुरक्षाकर्मीले ताक्लाकोटबाट अन्य सामानजस्तै चिनियाँ मदिरा पनि नेपालतर्फ नपठाउने सहमति जनाएपछि उक्त मदिरा भित्रिन रोकिएको हो ।
हिल्सा नाकाका लागि ताक्लाकोटबाट चिनियाँ मदिरा नछोड्न नेपाली सुरक्षा निकायले संयुक्त रूपमा गरेको आग्रहलाई चिनियाँ सुरक्षाकर्मीले स्वीकार गरेको सशस्त्र प्रहरी बल नेपाल, बिओपी हिल्साका सशस्त्र प्रहरी निरीक्षक कृष्ण दाहालले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष लुकिछिपी रूपमा सीमा क्षेत्रबाट सो मदिरा नेपाल भित्रिने गरेको थियो । यसको सर्वत्र विरोध भएपछि हिल्सामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले चिनियाँ पक्षसँग औपचारिक रूपमा अनुरोध गरेका थिए ।
सोही अनुरोधअनुसार चिनियाँ पक्षले मदिरा नपठाउने सहमति दिएपछि हाल हिल्सा नाकाबाट मदिरा भित्रिन पूर्ण रूपमा रोकिएको उहाँले जानकारी दिनुभयो । यसअघि चिनियाँ सुरक्षाकर्मीले उक्त मदिरा सहज रूपमा पठाउन सहयोग गर्दै आएका थिए । तर अहिले रोकिएपछि हिल्सा क्षेत्रमा स्थिति सहज भएको सुरक्षाकर्मीको भनाइ छ ।
मदिरा भित्रिन रोकिएपछि हिल्सा क्षेत्रमा विवाद तथा झैझगडा समेत कम भएको स्थानीयले बताएका छन् । यसअघि लुकिछिपी रूपमा वार्षिक करिब २० करोड रुपैयाँभन्दा बढीको चिनियाँ मदिरा नेपाल भित्रिने गरेको स्थानीयको दाबी छ । कतिपय अवस्थामा हिल्सामा खटिएका प्रहरीको मिलोमतोमा समेत मदिरा भित्रिने गरेको आरोप स्थानीयले लगाउँदै आएका थिए । सुराकीको सूचनाका आधारमा प्रहरीले बेला–बेला सो मदिरा बरामद गर्ने गरेको पनि बताइएको छ ।