• १३ साउन २०८१, आइतबार

नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण महत्त्वपूर्ण : प्रधानमन्त्री

blog

चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किनुभएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग संवाद गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, असोज १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणले नेपाल र चीन बिच विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबिच रही आएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किनुभएको प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संवाद गर्नुहुँदै भ्रमणबारे जानकारी दिनुहुँदै सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीले भ्रमणका दौरान चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताउनुभयो । साथै उहाँले विगतमा भएका समझदारीहरूको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता पनि चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले व्यक्त गर्नुभएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी जिनफिङले गर्नुभएको भ्रमणपछि नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण भएको बताउनुभयो । कोभिड–१९ महामारीका कारण लामो समयदेखि उच्चस्तरमा भ्रमणहरू नभइरहेको सन्दर्भमा आफ्नो भ्रमणले दुई देशका बिचमा प्रगाढ सम्बन्ध निर्माण गर्न मद्दत पुगेको आफूले विश्वास लिएको बताउनुभयो ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबिचका सबै नाका खोल्ने सहमति भएको पनि जानकारी दिनुभयो ।


परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबिच सहमति भएको जानकारी उहाँले दिनुभयो ।

केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । “वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ”, उहाँले भन्नुभयो । 

यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्त्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो । आन्तरिकरुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उहाँले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताउनुभयो । चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारेमा छलफल भएको प्रधानमन्त्रीको भनाइ छ ।

आफू देश बाहिर रहँदा कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षक, स्वास्थ्यकर्मीलगायतले राख्दै आएको गुनासो सम्बोधन गरेकामा प्रधानमन्त्री प्रचण्डले धन्यवाद दिनुभयो ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्डको न्युयोर्क र चीन भ्रमणका झलक

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्ने समझदारी

नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट

प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट