• १३ साउन २०८१, आइतबार

नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर

blog

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङ्लगायत प्रतिनिधिमण्डलको सोमबार बेइजिङमा बसेको द्विपक्षीय बैठक । तस्बिरः प्रदीपराज वन्त

बेइजिङ, असोज ८ गते । नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

ग्रेट हल अफ दि पिपुलमा भएको द्विपक्षीय वार्तापछि १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

द्विपक्षीय वार्ताको क्रममा चिनियाँ प्रधानमन्त्री ली छियाङ्ले चीन–नेपाल सम्बन्ध सुमधुर बनाउन प्रधानमन्त्री प्रचण्डको विशेष योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।


उहाँले प्रधानमन्त्री प्रचण्ड र  चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको वार्ता फलदायी रहेको टिप्पणी गर्नुभयो ।

रणनीतिक साझेदारीको सहकार्यसहित नेपाल चीनसम्बन्धमा राष्ट्रपति सी को २०१९ मा भएको नेपाल भ्रमणदेखि नयाँ आयाम एवम् उचाइ थपिएको बताउनुहुँदै नेपालको विकासका लागि सहकार्य गर्न चीन सदैव तत्पर रहेको भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल अहिले सामाजिक एवम् आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्य छिटो टुङ्गोमा पुर्‍याउन नेपालले काम गरिरहेको बताउनुभयो ।


द्विपक्षीय वार्ता अघि प्रधानमन्त्री प्रचण्डको स्वागतार्थ चिनियाँ जनमुक्ति सेनाले सैनिक सलामी, गार्ड अफ अनर दिइएको थियो ।

यसअघि चीनको राष्ट्रिय काग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेचिसँग पनि प्रधामन्त्री प्रचण्डले भेट गर्नुभएको थियो ।

अध्यक्ष झाओका अनुसार चीनले प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई विशेष महत्त्व दिएको छ । चिनियाँ कांग्रेस नेपालको विकासका लागि सहकार्य गर्न तत्पर रहेको उहाँले बताउनुभयो । 

 यसैगरी, राससका विशेष प्रतिनिधि एकराज पाठकका अनुसार,  विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।     


चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । सो सम्झौतामा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गर्नुभयो ।

नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदानप्रदान भएको छ ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थमन्त्रालयबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता भएको छ ।

त्यसैगरी, चीनको उक्त आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने विषय राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।     


 त्यसैगरी, चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने विषयका लागि पनि सहमति भएको छ । यसमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । 

चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने विषयमा पनि सहमति भएको छ । सो सहमतिपत्रमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

सो अवसरमा चीनको सामान्य प्रशासन, भन्सार मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा सहमति भएको छ ।

उक्त प्रोटोकलमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।     

 

चिनियाँ प्रेस तथा प्रकाशन विभाग र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति भएको छ । सो सहमतिपत्रमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सो सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । 

साथै प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।     



Author
नन्दलाल तिवारी

उहाँ दि राइजिङ नेपाल डेली डटकमका संयोजक हुनुहुन्छ ।