• १३ कात्तिक २०८२, बिहिबार

प्रभु ग्रुपका सञ्चालक भट्टचन ठगी प्रकरणमा पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १२ गते । नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा ठगीसम्बन्धी कसूरमा संलग्न भएको आरोपमा प्रभु ग्रुपका सञ्चालक तथा पूर्व सभासद् देवी प्रकाश भट्टचन पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भट्टचनलाई ललितपुरको गोदावरी नगरपालिका–३ टौकेलबाट पक्राउ गरिएको जनाएको छ । 

भट्टचनलाई ठाकुर प्रसाद मानन्धरको जाहेरीका आधारमा दायर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको ब्यूरोले जनाएको हो ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार भट्टचन प्रभु मनि ट्रान्सफर प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिका प्रमुख सञ्चालकका रूपमा कार्यरत रहेर नेपाल राष्ट्र बैंकबाट प्राप्त रेमिट्यान्स कारोबारको लाइसेन्सको दुरुपयोग गरेको आरोपमा छन् । 

भट्टचनले प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेण्टको रूपमा नियुक्त गरी देशभरका सहकारी संस्थामार्फत विप्रेषण कारोबार गर्दै आएकोमा नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ को प्रावधानविपरीत कार्य गरेको पाइएको सीआईबीले जनाएको छ ।

विनियमावलीअनुसार कम्पनीले विदेशबाट प्राप्त रकम आफैं वा आफ्ना अधिकृत प्रतिनिधिमार्फत सम्बन्धित लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर भट्टचनको कम्पनीले सहकारी संस्थामार्फत रकम भुक्तानी गराए पनि ती सहकारी संस्थालाई सोधभर्ना नगरी रकम हिनामिना गरेको अनुसन्धानमा खुलेको ब्यूरोको भनाइ छ ।

यस प्रकरणमा देशभरका तीन दर्जनभन्दा बढी सहकारी संस्थाबाट उजुरी परेपछि भट्टचनविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि सीआईबीको टोलीले भट्टचनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो ।

भट्टचनमाथि ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरका आधारमा अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ ।