• ८ मंसिर २०८१, शनिबार

द्रुत बस सेवा

blog

काठमाडौंँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सुरु गरिएको छ । संविधान दिवसको अवसर पारेर सुरु गरिएको यो सेवा नगरिकका यात्राको दुरी घटाउने र सहज सेवा दिलाउने राज्यको कर्तव्यको नयाँ थालनी हो । दु्रत बस सेवाको नियमित सञ्चालनले हाल करिब दुई घण्टा लाग्ने सार्वजनिक यातायातको दुरी ४५ मिनेटमा झार्ने योजना छ । राजधानीको केन्द्रबिन्दुमा रहेको सिंहदरबारलगायत स्थानमा बिहान यात्रु धेरै आउने र बेलुका निवासमा फर्कने समयमा यातायातको ठुलो आवश्यकता पर्नु स्वाभाविक हो । यही माग ध्यानमा राख्दै बिहान दुई र बेलुका दुई घण्टा द्रुत बस सञ्चालन थालिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सीमित नराखी गर्दै लगिने बताएर अब नेपालमा पनि सार्वजनिक सवारी चढेर पनि समयमा गन्तव्यमा पुग्न पाइने भयो भन्ने आशा बलियो बनाउनुभएको छ । 

सिंहदरबार मुलुुकको केन्द्रीय सचिवालय अर्थात् प्रमुख प्रशासकीय क्षेत्र हो । सबै सङ्घीय मन्त्रालय यहीँ छन् । काममाडौँको परम्परागत मूल बजार रत्नपार्क वरपर नै छ । आफ्नो आवास क्षेत्रतिर बजार भए पनि दिन नै बिताएर किनमेलका लागि त्यतै पुग्ने उपभोक्ताको प्रवृत्ति छ । त्यसैले त्यहाँ यात्रुको चाप ठुलो छ तर सार्वजनिक सवारीका ठुलाभन्दा साना साधन धेरै छन् । निजी सवारीसाधनको सङ्ख्या धेरै छ । सडक सवारीसाधनले भरिए पनि सर्वसाधारणले कोचाकोच गरेर यात्रा गर्नुपर्ने, जामका कारण निश्चित समयमा गन्तव्यमा पुग्न नसकिने यथार्थ छ । खास गरी निर्धारित समयमा कार्यालयमा पुग्नुपर्ने आमकर्मचारी वर्ग र साँझ निवास फर्कनुपर्नेले कार्यालय समयमा सधैँ तनाव लिनुपर्ने अवस्था छ । दु्रत बस सेवाले त्यस्तो तनाव घटाउने नै छ । 

अहिले यो एक मात्र रुटमा दु्रुत सेवा सुरु गरिएको छ । उपत्यकाको चारैतर्फका डाँडापाखासम्मै बस्ती विस्तार भइरहेको छ । ती पाखाका बस्तीबाट मूल सहर र कार्यालयहरूमा छोटो समयमा पुग्नु कल्पना बाहिरको अवस्था छ । अन्य मुलुकमा जस्तो दुई किलोमिटर टाढाको निवासबाट कार्यालय आउजाउ गर्न सकिने द्रुतमार्ग र यातायात सेवा तिनै देशका कथा हुन् । कम्तीमा रत्नपार्कबाट चव्रmपथ र नजिकका केही फराकिला सडकमा दु्रत बस सेवाको प्रबन्ध भएमा यातायात सेवा सुधारको गतिलो फड्को हुने छ । उपत्यकाका अन्य क्षेत्रमा पनि यो सेवा बिस्तारै विस्तार गर्दै लैजाने भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको प्रतिबद्धता पूरा गर्न सडक सुधार, ट्राफिक व्यवस्थापन, यात्रु तथा चालकमा सवारी अनुशासन आदिको तालमेल आवश्यक हुने छ । 

रत्नपार्क–सूर्यविनायक रुटको सडकमा अहिले एक लेनमा रातो रङ लगाएर द्रुत बसका लागि लेन बनाइएको छ । यी बस एम्बुलेन्ससरह ट्राफिक रातो बत्ती बलेको बेला पनि रोक्न नपर्ने, निश्चित समय मात्र रोकिने भनिएको छ  तर रातो बत्तीमा नरोकिँदैमा सेवा द्रुत हुन्छ भन्ने छैन । फेरि ती बत्ती बल्दा पैदलयात्रुले सडक पार गरिहेका हुन्छन् । तिनलाई वारपार गर्न दिइनु पहिलो कर्तव्य हुन्छ । एकतर्फी सडकको समेत वास्ता नगर्ने, जहाँ पायो त्यहीँबाट गाडी मोड्ने अनुशासनहीन 

चालक प्रवृत्ति जब्बर छ । यस्ता सन्दर्भ विचार गरी नियम तर्जुमा र सवारी अनुशासन प्रवर्धन गर्नुपर्ने देखिन्छ । फराकिला सडक भए मात्र यातायात सहज र छिटो हुने होइन, साँघुरा सडकमा पनि सवारी अनुशासन र नियम पालना गरिए लामा ठुला साधनबाट एकै पटक धेरै यात्रुलाई छरितो सेवा दिन सकिने अन्य देशमा देख्न सकिन्छ । 

वास्तवमा नेपालमा सार्वजनिक यातायात सेवा बेथिति र विसङ्गतिले ग्रस्त छ । पहिलो व्यस्त रहने मूल सडक नै यात्रुलाई पिङ खेलाउने छन् । यस्ता साधनका लागि अलग्गै लेन छैन । प्रायः सवारीसाधन गुणस्तरीय छैनन् । यातायात सञ्चालकमा मानवीय व्यवहारको अभाव छ । सार्वजनिक यातायात सुधारका लागि आवश्यक र उपयुक्त साधनभन्दा राजस्व सङ्कलनमा राज्यको ध्यान रहने गरेको छ । यस्तो अवस्थामा सुधार प्रयास पनि अत्यावश्यक छ । दु्रत बस सेवालाई निन्तरता दिँदै सुधार र विस्तार वाञ्छनीय छँदै छ, आमजनजीवनलाई सहज र छरितो सेवा प्रवाहका लागि समग्र सार्वजनिक यातायात सेवाको सुधार आवश्यक छ । दीर्घकालमा त राजधानी उपत्यकाको सवारीलाई दु्रत र व्यवस्थित गर्न भूमिगत मेट्रो सेवाकै लक्ष्य हुनु पर्छ अनि मात्र महानगरको सार्थकता पूरा हुने छ ।