• ९ मंसिर २०८१, आइतबार

तीन कृति लोकार्पण

blog

काठमाडौँ, असोज ५ गते । साहित्यकारद्वय नर्मदेश्वरी सत्याल र जयन्ती स्पन्दनको तीन कृति लोकार्पण गरिएको छ। डा. मदनप्रसाद सत्यालको हीरक जयन्ती समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालका ‘प्रभातमय जिन्दगी’ यात्राकाव्य र ‘गुराँस झैँ’ बाल कवितासङ्ग्रह तथा सर्जक स्पन्दनको बाल कवितासङ्ग्रह ‘खेलौँ रमेर’ को लोकार्पण तथा परिचर्चा गरिएको हो। 

नेकपा एमालेका संस्कृति विभाग प्रमुख रघुजी पन्तले प्रविधिको प्रभावले घरपरिवारमा संवाद हुन छाडेको अवस्थामा पनि साहित्यकार नर्मदेश्वरी सत्यालको परिवारमा साहित्यिक उत्सवसहित हीरक जयन्ती मनाउने जमर्को हुनु नै उदाहरणीय काम भएको बताउनुभयो। सो अवसरमा डा. जया सत्यालले आमाबुवा नर्मदेश्वरी सत्याल र डा. मदनप्रसाद सत्यालले दिनुभएको शिक्षा र असल संस्कारले गरिखान सक्ने बनाएको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो। 

प्राडा लेखप्रसाद निरौलाले लोकार्पण गरिएका कृतिबारे समीक्षा गर्दै चार पुस्ताको अपूर्व सङ्गम र साहित्यिक वातावरणमा सिर्जनात्मक हीरक जयन्ती मनाउनु पनि अनुकरणीय रहेको बताउनुभयो। प्रेमनाथ अधिकारीले  हीरक जयन्तीको सन्दर्भ पारेर आयोजना गरिएको यस विशेष साहित्यिक समारोहले पनि मुलुकको समृद्धिका पक्षमा र समाजमा चेतना फैलाउने कर्ममा साहित्यकारहरू लागिरहनुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो। 

समारोहमा सङ्घका अध्यक्ष राम विनयले राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालका जीवनसाथी डा. मदनप्रसाद सत्यालको हीरक जयन्ती र सहयात्राका ५२ वर्षको सुखद अवसरमा आयोजित कार्यक्रममा तीन ओटा कृतिको लोकार्पण तथा परिचर्चा हुनु सुखद र सत्कर्म भएको बताउनुभयो।