बझाङ जिल्लाको तत्कालीन सदरमुकाम चैनपुर अहिले जयपृथ्वी नगरपालिका भएको छ । मानवतावादी राजा तथा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको जन्मस्थल रहेको यस पालिकाको नामकरण राजा जयपृथ्वीको नामबाट गरिएको हो । बझाङ राज्यको इतिहाससँग जोडिएको यो नगरपालिका ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । नगरपालिकाको केन्द्र भाग हुँदै घुमाउरो फन्को मारेर सेती नदीसमेत बगेको छ । साबिकको सुबेडा, रिठापाटा, चैनपुर, लुयाटा, हेमन्तवाडा र कैलाश गाउँ विकास समिति मिलाएर जयपृथ्वी नगरपालिका बनेको हो । जयपृथ्वी नगरपालिकामा भइरहेको विकास निर्माण तथा स्थानीय तहको कामकारबाहीलगायत विविध विषयमा केन्द्रित रहेर नगरपालिका प्रमुख चेतराज बजालसँग गोरखापत्रका लागि बझाङ समाचारदाता शैलेन्द्र रोकायाले गर्नुभएको कुराकानी :
नगर प्रमुखका रूपमा एक वर्षभन्दा बढी समय बिताउनुभयो काम गर्दाका अनुभवहरू साट्न मिल्छ ?
एक वर्षमा काम गर्दाको अनुभव मिश्रित छ । जनअपेक्षाहरू बढी छन्, स्रोत र साधनको कमी छ । सोचे जस्तो काम गर्ने वातावरण बन्न सकेको छैन । सहमति, सहकार्यले नै नगरको विकासमा टेवा पुग्छ भन्ने विश्वास छ । सहमति, सहकार्य र समझदारीमा कार्यपालिका चलेको छ । कतिपय अप्ठ्यारालाई सहज बनाउन हरपल लागिरहेका छौँ ।
एक वर्षको अवधिमा भए गरेका महत्वपूर्ण कामहरू के–के हुन् ? कामको प्रभाव कस्तो छ ?
एक वर्षको अवधिमा नगरको विकास लागि भौतिक पूर्वाधारको अलवा महत्वपूर्ण काम गरेका छौँ । एमबिबिएस पढ्न चाहने गरिब तथा विपन्न परिवारका विद्यार्थीका लागि छात्रवृति कार्यक्रमको कार्यान्वयन गरेका छौँ । पिछडिएको वर्गका रूपमा रहेका महिला तथा दलित वर्गहरूको विविध क्षेत्रमा विकास गर्न महिला विकास समिति र दलित विकास समिति बनाएर रचनात्मक काम गर्दै आइरहेका छौँ ।
नगरको विकासलाई तीव्रता दिन जेसिबी खरिद गरेर विकास निर्माणका कार्यमा सहजता र सहकार्य गरिरहेका छौँ । बजार क्षेत्रमा सिसी क्यामरा जडान गरेकाले आपराधिक क्रियाकलापमा कमी आएको छ । शिक्षकको दरबन्दी मिलान गरेर शैक्षिक गुणस्तरमा जोड दिएका छौँ । यस्ता कामले समुदायमा सकरात्मक प्रभाव परेको छ ।
सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन र सुशासनको प्रत्याभूति दिन के गरिरहनुभएको छ ?
नगरपालिकालाई नागरिकमैत्री बनाउन हरसम्भव प्रयास जारी छ । जनप्रतिनिधि र कर्मचारीलाई अझै बढी जिम्मेवार बनाउने काम भइरहेको छ । सुशासनका औजारको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएका छौँ । हरेक योजनाका विषयमा सार्वजनिक परीक्षण र सार्वजनिक सुनुवाइलाई प्रभावकारी बनाएका छौँ । गुनासाहरू सुन्ने, नागरिक वडापत्रको प्रभावकारी कार्यान्वयन गर्ने र नगरका गतिविधिलाई सञ्चार माध्यमबाट पारदर्शी ढुङ्गले प्रसारणलगायतका थुप्रै कामहरू गरेका छौँ ।
जयपृथ्वी नगरपालिकालाई कस्तो नगरपालिका बनाउने सपना देख्नुभएको छ । ती सपना साकार पार्नका लागि के प्रयास गरिरहनुभएको छ ?
यस नगरपालिकालाई जिल्लाको नमुना नगरपालिका बनाउने लक्ष्य लिएको छु । यस विषयमा विभिन्न प्रयास भइरहेका छन् । सदरमुकाममा रहेका नाला तथा कुलालाई व्यवस्थित बनाउने, बसपार्क बनाउने, फोहोर व्यवस्थापनको कार्यलाई थप व्यवस्थित बनाउने, बझाङी राजाहरूको ऐतिहासिक भोपुर दरबारलाई सङ्ग्रहालय बनाउने कार्यको थालनी भएको छ । नगरको विकासका लागि अन्य भौतिक निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका विविध क्षेत्रमा प्रयास जारी छन् ।
जस्तै शिक्षामा दरबन्दी मिलान, दसवर्षे शैक्षिक योजना निर्माण, रनिङ सिल्डको निरन्तरता, एमबिबिएस विद्यार्थी छात्रवृत्तिको निरन्तरतालगायत भौतिक पूर्वाधारको निर्माण गरेका छौँ । स्वास्थ्यतर्फ क्षयरोगमुक्त पालिका अभियान, सुत्केरी तथा ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण तथा उपचार, दीर्घकालीन रोगहरूमा आर्थिक सहायता प्रदानलगायत नियमित कामहरू गरेका छौँ । कृषि तथा पशुपालनतर्फ उन्नत गहुँ तथा धानको बिउ वितरण, रासायनिक मलको ढुवानीमा अनुदान, हिउँदे तथा वर्षे तरकारी खेतीका लागि तालिम तथा औजार, प्रविधि वितरण, हाते ट्याक्टरमा अनुदानलगायतका विभिन्न कार्यहरू गरेका छौँ ।
२०७८ असोजका बाढीपीडित तथा गएको वर्ष आएको भूकम्पपीडितले अझै राहत पाउन सकेका छैनन् । यसका लागि के व्यवस्था हुँदै छ ?
पालिकासँग सीमित स्रोत साधन र असीमित आवश्यकता छन् । हामीले विभिन्न सिपमूलक तालिम, जीविकोपार्जन कार्यहरूमा समेत विपत् पीडितलाई समेटेका छौँ । बाढीपीडितलाई राहत दिलाउन केन्द्रमा पठाएको रेकर्ड अनुसारको राहत प्राप्त भइरहेको छ । भूकम्पपीडितको स्थलगत निरीक्षण केन्द्रमा पठाएको छ । सङ्घीय सरकारबाट केही सम्बोधन होला भन्ने अपेक्षा छ ।
स्थानीय तहमा काम गर्दा के कस्ता समस्या आइपर्ने रहेछन् ? त्यसलाई कसरी सहजीकरण गर्नुभएको छ ?
जनप्रतिनिधिका रूपमा काम गर्दा निकै चुनौतीपूर्ण हुँदो रहेछ । जनताका अपेक्षा, आवश्यकता स्वभाविक रूपमा बढी नै छन् । हामीसँग सीमित स्रोत साधन छ । जनअपेक्षा अनुसार काम गर्नका लागि स्रोत साधनहरू समेत त्यही मात्रामा हुनु प¥यो । स्रोत साधनको अभाव छ । भौगोलिक कठिनाइहरू छन् । सरकारले अनुदानलाई घटाउँदै लगेको अवस्था छ ।
नगरपालिकाको वार्षिक आन्तरिक आय पनि एक करोड नाघ्न सकेको छैन । हाम्रो बजेट वर्षमा ७० करोड जति मात्रै हो । चैनपुरमा रहेको कुलोमा फोहोर फाल्ने र सडकमा चौपाया छोड्ने प्रवृत्ति छ । सबै क्षेत्रमा सहजीकरण गरेर केही हदसम्म सुधार हुने आशा गरौँ । प्रदेश, केन्द्र र स्थानीय सरकारबिच समन्वय हुन सकेको छैन । विकासमा एकरूपता ल्याउने हो भने तीनै तहका सरकारबिच तालमेल मात्र नभई समन्वय हुनुपर्दछ । यहाँ त्यसो हुन सकेको छैन ।