शेरबहादुर सार्की
बाजुरा, कात्तिक ५ गते । जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको कोल्टीमा बस पुगेपछि स्थानीय हर्षित भएका छन् । अविरल वर्षातका कारण मार्तडी–कोल्टी सडकअन्तर्गत पर्ने जिल्ली सडकमा गएको पहिरोका कारण विगत लामो समयदेखि सडक अवरुद्ध हुँदा बस मार्तडीमै रोकिने गरेका थिए ।
बुढीनन्दा नगरपालिकाले मार्तडीदेखि कोल्टी सडक मर्मत तथा सफाई गरेसँगै सदरमुकाम मार्तडीमै रोकिने गरेका बस कोल्टीमा सुचारु भएपछि घरदेखि बस सेवा लिन पाउँदा यती बेला यहाँका स्थानीय हर्षित भएका हुन् ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्थानीयलाई आउजाउमा सहज हुने गरी दसैँ अगाडि जिप सेवा सुचारु भए पनि बस सञ्चालन हुन सकेका थिएन । अहिले डोजरले पुनः मार्तडीदेखि कोल्टी सडक मर्मत तथा सफाई गरेपछि बल्ल बस सञ्चालन आएको बुढीनन्दा नगरपालिकाले जनाएको छ ।
मार्तडी देखि कोल्टी सडक गत बुधबारमा सफाई गर्ने काम सकिए पनि बस भने मङ्गलबारदेखि मात्र सुचारु भएको ना ५ ख ५२५८ नम्बर बसको मालिक टीका थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पानी परेर सडक नर्बियो भने अब दैनिक रुपमा कोल्टीबाट धनगढी, महेन्द्रनगर नेपागञ्ज र काठमाडौँ बस सुचारु हुन्छन् ।”
यहाँका स्थानीयलाई मार्तडी पुगेर बस सेवा लिन खर्चिलो हुन्थ्यो । कोल्टीदेखि बस सेवा सञ्चालन भएपछि उनीहरुको यात्रुलाई अहिले भाडामा पनि निकै सहज भएको थापाले बताउनुभयो ।
गत भदौदेखि बुढीनन्दा नगरपालिकाले मार्तडी–कोल्टी सडक मर्मत कार्य सुरु गरिएको थियो । सडक निर्माण गर्ने कामलाई तीव्रता दिएसँगै दशैँ अगाडि जिप सञ्चालनमा ल्याएका थियौँ ।
अहिले फेरि बस सञ्चालनका लागि पुन सडक मर्मत गर्ने काम भएसँगै यती बेला दिपावलीको बेलामा कोल्टी बस पुर्याउन समेत सफल भएको बुढीनन्दा नगरपालिका नगरप्रमुख जनकबहादुर बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब यसको मुख्य समस्या बाउली दानसाँग खोलामा छिटो पुल निर्माण गर्न लगाउनुपर्ने छ । कालोपत्रेको काम छिटो गराउनुपर्ने छ । यसका लागि हामीले सम्बन्धित निकायलाई काम चाँडो गर्नका लागि पहल कदमी गरेका छौँ । केही समयपछि काम सरु हुन्छ ।”
त्यसपछि यहाँका दुर्गम गाउँ बस्तीका स्थानीयले हिउँद बर्खामै कोल्टीदेखि देशका विभिन्न ठाउँमा बस सेवा नियमित लिन पाउँने बुढीनन्दा नगरपालिकाका नगरप्रमुख बोहराले बताउनभुयो ।