भक्तपुर (थिमि), कात्तिक ५ गते । प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।
बुधबार राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
‘‘नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्न जिम्मेवारी पाएको यहाँहरुलाई विदितै छ । यस सरकारसँग नेपालको संविधानअनुसार जेनजी समूहको यथोचित आवाजलाई सम्बोधन गरी नेपाली जनतालाई सेवा दिनुपर्ने दायित्व रहेको छ ।,’’ प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘‘साथै निष्पक्ष निर्वाचन गराउने कार्यमा सम्पूर्ण राजनीतिक दल र समाजका सबै वर्ग–समूहको साथ र सहयोग रहनेछ भन्ने कुरामा विश्वस्त रहेको छु ।’’
यसैगरी, उहाँले नेपाल अझै पनि निरपेक्ष गरिबी र असमानतासँग लडिरहेको औंल्याउनुभयो । समाजमा गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक स्तर वृद्धि गर्न साख्वाःले देखाउनुभएको मार्गमा हामी सबै प्रतिबद्ध भएर लाग्नु आवश्यक रहेको उहाँको भनाइ छ ।
नेपाली राष्ट्रियता, मौलिकता एवम् सामाजिक इतिहासलाई उच्च राख्ने शंखधर साख्वाःजस्ता महान् व्यक्तित्वबाट हामी सबैले सिक्न जरुरी छ– व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई आत्मसात् गरी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्छ ।
नेपाली नोटमा नेपाल सम्वत् उल्लेख गरिन
यसैगरी, सरकारले नेपाली नोटमा नेवाल संवत् उल्लेख गर्ने तयारी अघि बढाउने भएको छ । प्रधानमन्त्री काकीले यसबारे जानकारी गराउनुभएको हो ।
सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता उनले सम्बोधनको क्रममा गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘‘नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल सम्वत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’’
११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा शंखधर साःख्वाले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरिदिएका थिए ।