धीरेन्द्रप्रसाद साह
राजविराज, कात्तिक ५ गते । यस वर्षको तिहारको चौथो दिन बुधबार गोवर्धन पूजा धार्मिक उत्साह र भव्यताका साथ मनाइँदैछ । दीपावलीपछि आउने यो पर्वले कृषिप्रधान समाजमा विशेष महत्त्व राख्छ । बिहानैदेखि मानिसहरूले गोबर वा माटोबाट गोवर्धन पर्वतको प्रतीक बनाइ पूजा अर्चना गरी अन्न, दुध, गाईगोरु र प्रकृतिप्रति कृतज्ञता व्यक्त गरिरहेका छन् ।
पण्डित बद्रीनारायण झाले भन्नुभयो, “गोवर्धन पूजा भगवान श्रीकृष्णको महान कर्मको प्रतीक हो । उहाँले इन्द्रको अभिमान तोड्न र गाउँलेहरूलाई वर्षाबाट बचाउन गोवर्धन पर्वत उठाउनुभएको थियो । त्यस घटनाको स्मरणमा हामी प्रकृति र पशुपालनप्रति कृतज्ञता प्रकट गर्छौं ।”
स्थानीय समाजसेवी देव नारायण यादवका अनुसार, “यो पर्वले समुदायबिच एकता र सहयोगको भावना बलियो बनाउँछ । गाई, गोरु र कृषिप्रति आदर देखाउने हाम्रो पुरानो संस्कारलाई यसले निरन्तरता दिन्छ ।” उहाँले गाईवस्तु पालक कृषकले आफ्नो गोठमा महिलाहरुले गोबरको गोर्वधन बनाएर पूजा गर्ने प्रचलन रहेको बताउनुभयो ।
त्यसैगरी, अर्का कृषक तारणीप्रसाद साहले भन्नुभयो, “हामी किसानका लागि यो पर्व हाम्रो जीविकासँग जोडिएको छ । आज हामी गोरुलाई नुहाइ–धुवाइ गरी पूजा गर्छौं, किनकि यिनै पशुहरूले हाम्रो खेत जोतेर अन्न फलाउँछन् ।”
आजको दिनलाई अन्नकूट पर्वका रूपमा पनि चिनिन्छ । यस अवसरमा घर–घरमा अन्न, मिठाइ र परिकार बनाएर वितरण गरिन्छ । भक्तजनहरूले मन्दिरमा दर्शन गर्दै परिवारको सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन् ।
धार्मिक विद्वानहरूका अनुसार, गोवर्धन पूजा धार्मिक कर्म नभई पर्यावरण र कृषि संरक्षणको सन्देश पनि हो । प्रकृति, पशु र मानवबिचको सहअस्तित्वलाई सुदृढ बनाउने सन्देशका रूपमा गाउँ–शहरमा मनाउने गरिन्छ । पछिलो समय गाईवस्तु पालक कृषकको कमी, संस्कार र संस्कृति पुस्तान्तरण ग्रहण गर्ने नव पुस्ताको सोच र लगावमा कमि लगायतका कारण गोवर्धन पूजा र यस दिन गाईवस्तुलाई खेलाउने हुराहुररी खेल विरलै देख्न पाइने गरेको छ ।