टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), कात्तिक ५ गते । ४० वर्षीय रेशम थापा पेशाले शिक्षक हुनुहुन्छ । थापाले २०६६ सालबाट इन्दिर मावि धुर्कोट गाउँपालिका–६ मा अध्यापन गराउँदै आउनुभएको छ । जागीरमा स्थायी भएको २०७६ सालबाट हो । तर गाउँमा कृषि कर्म गरेका करिब दुई दशक पुग्न थाले । थापाले बिहान र साँझको समय व्यावस्थापन गरेर कृषि क्षेत्रमा देखाएको सक्रियता निकै उदाहरणीय छ ।
उहाँले रोपेका ५०० मध्ये ३०० बोट सुन्तलाका बोट फलेर आम्दानी दिन थालेका छन् । थापाका अनुसार वर्षमा दुई लाख रुपियाँ बढिका सुन्तला बिक्री गर्दै आउनुभएको छ । त्यस्तै, एक हजार ६०० बोट टमाटर छन् । टर्नेलभित्र वर्षमा दुई पटक टमाटर उत्पादन गर्न सकिन्छ । उत्पादन गर्न सके टमाटरको लागि पनि बजार र मूल्यको समस्या छैन ।
उहाँको टमाटर गाउँपालिकाको केन्द्र बरबोट र तम्घासमा पुग्छ । थापाले गाडी र कहिलेकाहीँ आफैँले मोटरसाकलमा टमाटर बेच्न लैजानुहुन्छ । होलसेलमा प्रतिकिलो ७० र फुटकरमा सय रुपियाँसम्ममा टमाटर बिक्री भइरहेको थापाले बताउनुभयो । टमाटरबाट वर्षमा एक÷डेढ लाख कमाई हुने गरेको छ । थापाले अहिलेसम्म आफ्नै पुर्ख्यौली जग्गामा खेती गरिरहनु भएको छ । सुन्तलाका लागि क्षेत्र विस्तार गर्ने सोँच भएपनि अनुकूल जग्गा नभएको रेशमले बताउनुभयो ।
गाउँमा प्रसस्त सिँचाइ सुविधा रहेको छ । उहाँले परम्परागत खेती धान, मकै लगायत पनि गरिरहनु भएको छ । आफु विद्यालय हिँडेपछि आवश्यक कामको सहजीकरण श्रीमती मिना थापाले गर्दै आउनुभएको छ । स्थायी जागिर भएकाले लगानीमा क्रृण खोज्न परेन् । अहिलेसम्म करिव आठ लाख लगानी गरेकाले अब आम्दानी खाने दिन आएको शिक्षक थापाले बताउनुभयो ।
थापाले धुर्कोट गाउँपालिकाबाट नमुना कृषि फर्मको रुपमा दुई लाख रुपियाँ सहयोग प्राप्त भएका टर्नेलमा लगानी गरेको जानकारी दिनुभयो । घरपायक जागिर भएका शिक्षक थुप्रै भए पनि रेशम थापाले गरेको कर्म निकै उदाहरणीय रहेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताउनुभयो । उहाँले जागीरको समय व्यावस्थापन गरेर पनि आफ्नो घर वरपरको जग्गामा कृषि खेती गरेर थप आम्दानी गरिरहनुभएका थापाबाट सवैले प्रेरणा लिनुपर्ने बताउनुभयो ।