गोरखापत्र अनलाइन
भक्तपुर, असोज ४ गते । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले भदौ २३ र २४ को घटना विदेशी योजनाअनुरुप भएकाले त्यसमा नेपालीहरु चनाखो हुनुपर्ने बताउनुभएको छ । एमाले भक्तपुर जिल्ला कमिटीद्वारा मंगलबार आयोजित शुभ दीपावली, नेपाल संवत् ११४६ नयाँ वर्ष तथा छठको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम उहाँले सो कुरा बताउनुभयो ।
भ्रष्टाचार अन्त्य गरी मुलुकमा प्रणालीको विकास गर्ने जेनजी युवा पुस्ताको माग जायज भए पनि त्यसमा विदेशी तत्वहरुले खेल्ने अवसर पाएको उहाँको भनाइ छ । सुशासन कायम गर्ने र सामाजिक सञ्जाल सुचारु गर्नुपर्छ भन्ने माग जायज रहेको भए पनि षडयन्त्रकारीले जेनजीको भावनामा खेलेको उहाँको बुझाइ छ ।
उहाँले नेपाली आन्दोलनमा तिब्बतियन ओर्जिनल ब्लड आएर भदौ २३ र २४ को विध्वंस मच्चाएको पनि उहाँले दावी गर्नुभयो । ‘बालबालिकाको भावनामा खेलेर नेपाललाई ध्वस्त बनाउने प्रयास गरिएको छ, यो कुरा जेनजी पुस्ताले बुझ्नुपर्छ उहाँले भन्नुभयो । आन्दोलन स्थलमा एसएलआर हतियार प्रयोग भएको बस्नेतको दाबी छ। विद्यार्थीलाई स्कुल ड्रेसमा आन्दोलनस्थलमा लगेर प्रयोग गर्ने काम भएको उहाँले बताउनुभयो । घटनाको सत्यतथ्य छानविन गर्न उहाँले माग गर्नुभयो ।
सिंहदरवारमा आगजनी गर्ने काममा काठमाडौं महानगरका मेयर बालेन साहको समेत हात रहेको उहाँले दावी गर्नुभयो । जेनजी आन्दोलनमा धेरै तत्वले फाइदा लिएको बताउँदै उहाँले छानविन पूर्वाग्रही ढंगले भएमा परिणाम देखिने बताउनुभयो । नेताको घर, सार्वज्निक सम्पत्ति जलाउने र तोडफोड गर्ने काम अपराध भएको बताउँदै उहाँले दोसीलाई कारवाहीको माग गर्नुभयो ।