• ८ मंसिर २०८१, शनिबार

मौरी–भँवराको कमीले अलैँचीमा समस्या

blog

परागसेचनमा घरपालुवा मात्र नभई जङ्गली, एक्लै बस्न रुचाउने मौरी, झिँगा प्रजातिका किरा सबै नै महŒवपूर्ण हुने विषयमा कृषकलाई जानकारी गराउन सकिएको छैन । वनस्पतिविद्का अनुसार विश्वमा जङ्गली फूलका ९० प्रतिशत प्रजाति, खाद्यबाली ७५ प्रतिशत र कृषिबाली ३५ प्रतिशत जीव परागसेचनमा निर्भर रहने गरेको छ ।

काठमाडौँ, भदौ २० गते । सिमसार र जङ्गलमा खेती गरिने अलैँचीमा डढुवा रोग लागेपछि धेरैजसो बगान नै सखाप भएका छन् । अलैँचीमा एकातिर डढुवा रोगको समस्या छ भने अर्कातिर भँवरा र मौरीको सङ्ख्या घट्दा परागसेचन प्रक्रियामा समस्या हुँदा उत्पादन निरन्तर घट्दो छ । 


यसका साथै विषादीको बढ्दो प्रयोग र जलवायु परिवर्तनको असर पनि अलैँची खेतीमा परेको छ । जसका कारण अलैँची किसान वार्षिक करोडौँ रुपियाँ बराबरको घाटा बेहोर्न बाध्य भएका छन् । वनस्पतिविद्का अनुसार विश्वमा जङ्गली फूलका ९० प्रतिशत प्रजाति, खाद्यबाली ७५ प्रतिशत र कृषिबाली ३५ प्रतिशत जीव परागसेचनमा निर्भर रहने गरेको छ । 

त्यस्ता जीवको सङ्ख्यामा कमी आएसँगै अलैँची उत्पादनमा कमी आएको आकलन गरिएको छ । जीव परागसेचनको ८० प्रतिशतभन्दा बढी परागसेचन किराहरूबाटै हुने गर्छ । किराबाट हुने परागसेचनमा पनि सबैभन्दा बढी करिब ८० प्रतिशत हिस्सा मौरीले ओगट्ने प्रा.डा. रेशमबहादुर थापा बताउनुहुन्छ ।

परागसेचनमा घरपालुवा मात्र नभई जङ्गली, एक्लै बस्न रुचाउने मौरी, झिँगा प्रजातिका किरा सबै नै महŒवपूर्ण हुने विषयमा कृषकलाई जानकारी गराउन सकिएको छैन । त्यसको असर विभिन्न खाद्यबालीलगायत नगदेबालीमा पनि परेको छ । विषादीको प्रयोगले भँवरा र मौरीको सङ्ख्यामा निरन्तर कमी आउँदा त्यसको असर अलैँची उत्पादनमा भएको कृषि अनुसन्धान विज्ञ देवराज अधिकारीले बताउनुभयो ।

पूर्वबाट विस्तार हुँदै मध्यपहाडी जिल्लासम्म आइपुगेको अलैँची खेतीबाट ७० हजार किसान परिवार आश्रित छन् । काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका–१२ का कृष्णप्रसाद हुमागाईँले वर्षको तीन लाखसम्मको अलैँची बेच्ने गरे पनि यस वर्ष तीन हजार रुपियाँको उत्पादन नभएको गुनासो गर्नुभयो । उहाँले के रोगले बगान सखाप भयो भन्ने जानकारी पाउन नसकेको बताउनुभयो । 

नेपालका अधिकांश जिल्लामा अलैँचीका बिरुवा उत्पादन गरेर विक्री गर्दै आउनुभएका उपेन्द्र तिमल्सिनाले केही समययता अलैँची उत्पादनमा निकै कमी आएको बताउनुभयो । अलैँची उत्पादनको ‘हब’ मानिएको कोशी प्रदेशका अधिकांश जिल्लाका किसानको बगान नै सखाप हुन थालेको उहाँले दाबी गर्नुभयो । ७० वर्षदेखि हुँदै आएको स्वस्थ बगैँचामा समेत ठुलो असर देखा परेको तिमल्सिनाले उल्लेख गर्नुभयो । अघिल्ला वर्षको मौज्दात बाँकी रहेकाले निर्यातमा खासै फरक नदेखिए पनि आगामी वर्षदेखि अलैँची निर्याततर्फको ठुलो रकम घट्नेतर्फ सरोकारवालाले चासो देखाएका छन् । नेपालको अलैँची उच्च गुणस्तरको हुने गरेको छ । 

नेपालभर अलैँची खेती विस्तारका क्रममा अस्वस्थ बिरुवा वितरण भएकाले उत्पादन हुन थालेको केही वर्षमै बगान नै सखाप भएको अलैँची विकास केन्द्र फिक्कल इलामका प्रमुख राजन परियारले जानकारी दिनुभयो । अलैँचीमा डडुवा र गाना कुहिने रोगले समस्या पारेको छ । अर्को जिल्लाबाट ल्याएको अलैँचीको बिरुवाबाट पूरै बगानमा सङ्क्रमण फैलिएको हुन सक्ने उहाँले बताउनुभयो । नेपालका ५५ जिल्लामा अलैँची उत्पादन हुँदै आएको छ ।

करिब ७० हजारभन्दा बढी परिवार आश्रित रहेको अलैँची क्षेत्रबाट नेपालले वार्षिक अर्बौँ रुपियाँको निर्यात गर्दै आएको छ । यो आर्थिक वर्षमा मात्र भारत, अमेरिका, पाकिस्तान र इटालीमा नौ अर्ब ४७ करोड रुपियाँको अलैँची निर्यात भएको छ । उत्पादनमध्ये चार प्रतिशत मात्रै नेपाली बजारमा खपत हुने अलैँची पूर्ण रूपमा निर्यात हुने गरेको छ । नेपाल अलैँची व्यवसायी सङ्घले गत वर्ष उत्पादन २० प्रतिशतले घटेकाले निर्यात सोही अनुसार कम भएको जनाएको छ ।