काठमाडौँ, भदौ १४ गते । नेपाली सेनाले निर्माणको जिम्मा लिएका सडक आयोजनाको भौतिक प्रगति न्यून भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो देखाएको छ । सो सम्बन्धमा बुधबार मन्त्रालयमा बसेको बैठकले के कारणले आयोजना ढिला भए भन्नेबारे नेपाली सेनासँग जवाफ माग्ने गर्ने निर्णय गरेको छ । लामो समयदेखि भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले अहिले पाँच वटा सडक आयोजनामा काम गरिरहेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेका सडकको प्रगति सन्तोषजनक नरहेकाले ती आयोजनाको भौतिक प्रगति के कति कारणले न्यून हुन गयो ? ती आयोजनालाई तीव्रता दिन मन्त्रालयबाट के कस्तो सहकार्य हुन सक्छ ? विषयमा भन्ने नेपाली सेनासँग छलफल गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “आयोजनाहरूको वर्तमान अवस्था र देखिएका समस्याबारे जानकारी लिन प्रधान सेनापतिलगायत ती आयोजनासँग सम्बन्धित पदाधिकारीलाई भदौ १८ गते मन्त्रालयमा बोलाइने निर्णय भएको छ । उहाँहरूसँगको छलफलपछि आयोजनालाई तीव्रता दिन मन्त्रालयले थप निर्णय र तालिका बनाएर अगाडि बढ्ने छ ।”
यसअघि मन्त्रालयले सडक विभाग अन्तर्गत आयोजनामा समय तालिका (टाइम कार्ड) लागु गरे पनि नेपाली सेनाको व्यवस्थापनमा अगाडि बढेका आयोजनामा लागु गर्न सकेको छैन । भदौ १८ गतेको बैठकले सेनाद्वारा सञ्चालित सडक आयोजनामा समेत समय तालिका लागु गर्नेबारे निर्णय गर्ने मन्त्री ज्वालाले बताउनुभयो । अब ती आयोजनालाई तीव्रता दिन नियमित स्थलगत निरीक्षण गरिने उहाँको भनाइ थियो ।
नेपाली सेनाको व्यवस्थापनमा अहिले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग, कोशी कोरिडोर, गोरखाको लार्के भन्ज्याङ, कर्णाली कोरिडोरको खुलालु र सलीसल्ला, दार्चुला टिङ्कर सडक निर्माण भइरहेको छ ।
काठमाडौँ–तराई/मधेश द्रुतमार्गको पछिल्लो समय बृहत् परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गरी आयोजनाको डिजाइन नै परिवर्तन गरेको छ । नयाँ डिजाइन अनुसार सो आयोजनामा तीन वटा सुरुङ मार्ग थप हुने भएको छ । ‘डिपिआर’ संशोधनपछि निर्माण लागत मूल्य दुई अर्ब दुई करोड रुपियाँ कम हुने नेपाली सेनाको दाबीको छ ।