गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २४ गते । प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, उत्तरदायी र मर्यादित पत्रकारिता मेरुदण्ड भएको बताउनु भएको छ ।
उहाँले सञ्चार माध्यमले नागरिकको आवाजलाई सशक्त रूपमा मुखरित गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि निरन्तर खबरदारी गर्नुपर्नेआवश्यक तामा जोड दिनुभएको छ ।
गोरखापत्र प्रकाशनको १२६ वर्ष प्रवेश तथा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, ‘‘लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, उत्तरदायी र मर्यादित पत्रकारिता मेरुदण्ड हो। सञ्चार माध्यमले नागरिकको आवाजलाई सशक्त रूपमा मुखरित गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि निरन्तर खबरदारी गर्नु आवश्यक हुन्छ ।’’
शुभकामनाको पूर्णपाठ यस प्रकार छ –
शुभकामना सन्देश
गोरखापत्रले आफ्नो गौरवशाली १२५ वर्षको ऐतिहासिक यात्रा सफलतापूर्वक पूरा गरी १२६औं वर्षमा प्रवेश गरेको यस सुखद अवसरमा म गोरखापत्र संस्थान परिवार, आदरणीय पाठकवर्ग तथा आमसञ्चार क्षेत्रसँग सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।
वि.सं. १९५८ वैशाख २४ गतेको कठिन राणाकालीन परिवेशमा प्रकाशन आरम्भ भएको गोरखापत्र नेपाली पत्रकारिताको जग बसाल्ने ऐतिहासिक अभियानको प्रस्थानविन्दु हो। प्रारम्भदेखि नै यसले सत्य, तथ्य र विश्वसनीय सूचनाका माध्यमबाट समाजलाई सुसूचित गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । समयक्रमसँगै मुलुकले विभिन्न राजनीतिक परिवर्तनहरू पार गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवस्थासम्म आइपुग्दा गोरखापत्रले ती सबै कालखण्डको एक सजीव दस्तावेजका रूपमा आफ्नो अस्तित्वलाई सुदृढ बनाएको छ ।
'सर्वे भवन्तु सुखिनः' को मूल मन्त्रलाई आत्मसात् गर्दै गोरखापत्रले केवल समाचार सम्प्रेषण मात्र होइन, सामाजिक चेतना अभिवृद्धि, राष्ट्रिय एकताको प्रवर्द्धन तथा समावेशी समाज निर्माणमा समेत विशिष्ट योगदान पुऱ्याएको छ। नेपालका विभिन्न भाषा, संस्कृति र पहिचानलाई समेट्दै ४९ मातृभाषामा सामग्री प्रकाशन गर्नु यसको प्रशंसनीय विशेषता हो, जसले विविधतायुक्त राष्ट्रलाई भावनात्मक एकताको सूत्रमा बाँध्न सहयोग पुयाएको
छ।
विशेषगरी, नेपालको संसदीय यात्राको अभिलेखकर्ताका रूपमा समेत यसको भूमिका अतुलनीय छ । यही जेठो अखबारको जन्म दिनमा 'राष्ट्रिय पत्रकारिता दिवस' मनाइनु हामी सबैका लागि गौरवको विषय हो।
लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, उत्तरदायी र मर्यादित पत्रकारिता मेरुदण्ड हो। सञ्चार माध्यमले नागरिकको आवाजलाई सशक्त रूपमा मुखरित गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि निरन्तर खबरदारी गर्नु आवश्यक हुन्छ । यस सन्दर्भमा गोरखापत्रले आफ्नो ऐतिहासिक जिम्मेवारीलाई अझ प्रभावकारी ढङ्गले निर्वाह गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
अन्त्यमा, गोरखापत्र आगामी दिनमा अझ आधुनिक, प्रविधिमैत्री र जनउत्तरदायी सञ्चार माध्यमका रूपमा विकसित हुँदै आफ्नो ऐतिहासिक गरिमालाई थप उचाइमा पुऱ्याउन सफल रहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु । धन्यवाद ।
२०८३ वैशाख २२ गते मङ्गलबार
नेपाल संवत् ११४६, बाछलागा ४
डोल प्रसाद (डीपी) अर्याल
सभामुख, प्रतिनिधि सभा