नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख २४ गते । जिल्ला प्रशासन कार्यालय बागलुङले जिल्ला हुलाक कार्यालयमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउने सेवा सुरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार सेवाग्राहीको ठेगानासहित जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालयलाई राहदानी उपलब्ध गराउने तथा हुलाक कार्यालयले सम्बन्धित व्यक्तिले राहदानी बुझेको प्रमाण प्रशासनलाई उपलब्ध गराउने गरी सहमति गरिएको छ ।
पहिलो दिन पाँच जना सेवाग्राहीको राहदानी हुलाकमार्फत पठाइएको छ । नेपाल सरकारले अघि सारेको शासकीय सुधार कार्ययोजनाअन्तर्गत नागरिकको सहजताका लागि घरमै राहदानी पुर्याउन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सेवा सुचारु भएपछि राहदानी लिन प्रशासनमै आउनुपर्ने बाध्यता अन्त्य हुने छ । तर राहदानी पठाउनुअघि सम्बन्धित व्यक्तिलाई फोनमार्फत सम्पर्क गरी घरमै पठाउने वा नपठाउने भन्ने विषयमा यकिन गरिने छ ।
प्रजिअ आचार्यले फोन सम्पर्क गर्दा केही सेवाग्राही सदरमुकाममै रहेको, केही पोखरा, काठमाडौं र बुटवलमा रहेको तथा कतिपयले प्रशासनमै आएर राहदानी लैजाने बताएका जानकारी दिनुभयो । संवेदनशील र महत्त्वपूर्ण कागजात भएकाले सेवाग्राहीको अनुमति बिना घरमा पठाउन नसकिने उहाँको भनाइ छ ।
राज्यले घरदैलोमै सेवा पुर्याउन खोजे पनि कतिपय अवस्थामा गोपनीयताको ख्याल गर्नुपर्ने भएकाले प्रशासन थप संवेदनशील बनेको उहाँले बताउनुभयो ।
सरकारले आगामी १०० दिनभित्र राहदानी, नागरिकताको प्रतिलिपि र सवारी चालक अनुमति पत्र (लाइसेन्स) जस्ता अत्यावश्यक सरकारी कागजात घरमै पुर्याउने व्यवस्था गर्ने लक्ष्य लिएको छ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नम्बर २७ मा उक्त योजना समावेश गरिएको छ ।
कार्यसूचीअनुसार हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गरिने छ । सोही माध्यमबाट राहदानी, नागरिकता र लाइसेन्सलगायतका कागजात नागरिकको घरसम्म पुर्याइने छ । सरकारले सेवा प्रवाहलाई सरल, छिटो र बिचौलियारहित बनाउन सबै प्रक्रिया डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने योजना अघि सारेको छ ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने सेवामा बिचौलियाको प्रवेश रोक्ने लक्ष्यसमेत राखिएको छ ।