• २४ वैशाख २०८३, बिहिबार

म्याग्दीमा छ थान भरुवा बन्दुक बरामद

blog

भरुवा बन्दुक । फाइल तस्बिर

अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख २४ गते ।
म्याग्दीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ‘ब्राभो सेरा अपरेसन’ अन्तर्गत प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार इलाका प्रहरी कार्यालय दरबाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार उक्त बन्दुक बरामद गरेको हो । धवलागिरि गाउँपालिका–४ मुदीको बगर क्षेत्रस्थित जंगलमा लुकाइराखेको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले २०८२ मङ्सिर १५ गतेदेखि सुरु गरेको ‘ब्राभो सेरा अपरेसन’ अन्तर्गत हालसम्म जिल्लाका विभिन्न क्षेत्रबाट इजाजतबिनाका १४२ थान भरुवा बन्दुक नियन्त्रणमा लिइसकेको छ ।

अवैध हतियार चोरी–सिकारीका साथै विभिन्न अप्रिय घटनामा प्रयोग हुन सक्ने भएकाले अभियानलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले बताउनुभयो ।

ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) तथा विभिन्न सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्न पनि यो अभियान प्रभावकारी हुने उहाँको भनाइ छ ।