• २४ वैशाख २०८३, बिहिबार

मोतीपुर औद्योगिक क्षेत्र निर्माण अन्योलमा

blog

बुटवल समाचारदाता

बुटवल, वैशाख २४ गते । बुटवलको मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने विषय जग्गा विवादका कारण अघि बढ्न सकेको छैन । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मोतीपुर औद्योगिक क्षेत्र परियोजना कार्यालयलाई पत्र पठाउँदै मोतीपुर औद्योगिक क्षेत्रको स्वामित्वमा रहेको जग्गा खाली गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि स्थानीय मोतीपुरका बासिन्दा आन्दोलित छन् । जसका कारण औद्योगिक क्षेत्र बनाउने विषय तत्कालका लागि अघि बढाउन समस्या भएको छ ।    

सरकारले २०७२ चैत १ देखि सातै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने घोषणा गर्दै लुम्बिनी प्रदेशको बुटवलमा पनि मोतीपुर औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । जग्गा व्यवस्थापन गर्न नसक्दा सरकारकै घोषणा लामो समयसम्म अलपत्र परेको हो ।

विसं २०७७ वैशाख २१ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले मोतीपुरमै औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको थियो तर स्थानीयले अवरोध गरेपछि त्यसयता काम अघि बढ्न सकेको छैन । 

बुटवल उपमहानगरपालिका–१७ र १८ को तिनाउ नदीको उकास मोतीपुर क्षेत्रमा २०५७ सालदेखि बसोबास गर्दै आएका स्थानीय मोतीपुरवासी र मोतीपुर औद्योगिक क्षेत्रबिच जग्गालाई लिएर किचलो हुँदै आएको छ । 

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख दीपक आचार्यले मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने विषयमा जग्गा विवादका कारण समस्या देखिएको बताउँदै सङ्घीय सरकारको निर्देशन अनुसार आफूहरूले काम गर्ने जानकारी दिनुभयो । 

उहाँले मोतीपुर औद्योगिक क्षेत्रको नाममा ८१३ बिघा जग्गाको पुर्जा रहेको तर त्यही जग्गामा मोतीपुर र रानीगन्ज क्षेत्रका बासिन्दाको बसोबास रहेकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषय अझै अन्योलमा रहेको बताउनुभयो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जग्गा अतिक्रमण हटाउन भन्दै पठाएको पत्रमा आवश्यक कारबाहीका लागि आफूहरूले जिल्ला प्रशासन कार्यालय रुपन्देही र बुटवल उपमहानगरपालिकासँग समन्वय गरिरहेको उहाँले बताउनुभयो । 

यसअघि स्थानीय मोतीपुरका बासिन्दाले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै मोतीपुर औद्योगिक क्षेत्र पनि बन्ने र बस्ती पनि हटाउन नपर्ने गरी बिचको माध्यम प्रयोग गरी औद्योगिक क्षेत्र बनाउन सुझाएका थिए । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पनि मोतीपुर औद्योगिक क्षेत्र पनि बन्ने र स्थानीय बासिन्दालाई पनि हट्नु नपर्ने गरी खाली जग्गामा औद्योगिक क्षेत्र बनाउन सकिने बताउनुभएको छ । 

यसअघि धेरै पटक सङ्घीय सरकार, जिल्ला समन्वय समिति र बुटवल उपमहानगरपालिकाले औद्योगिक क्षेत्र बनाउने गरी बिचको बाटो अपनाउने भन्दै मोतीपुर क्षेत्रको जग्गाको नापजाँच गरेका थिए । 

सरकारले तिनाउ नदी उकास क्षेत्र बुटवलको मोतीपुरदेखि तिलोत्तमा, शुद्धोधन र सियारी गाउँपालिकासम्मको तिनाउ नदीको पश्चिमतर्फको ८१३ बिघा क्षेत्रफलको जग्गालाई २०७३ वैशाख २९ र असार १४ मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा ल्याउने निर्णय गरेको थियो । 

नदी उकास क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले औद्योगिक क्षेत्रको नाममा सरकारले बनाएको ८१३ बिघा क्षेत्रफलको लालपुर्जा जग्गामध्ये झन्डै २५० बिघा क्षेत्रफलमा आफूहरूको बस्ती, स्थानीय 

विद्यालय र मठमन्दिर भएको दाबी गर्दै स्थानीयले उक्त जग्गा आफूहरूको हुनुपर्ने माग गर्दै आएका छन् ।