गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २४ गते । गोरखापत्र दैनिकमा ४९ मातृभाषामा समाचार सामग्री प्रकाशन गर्न थालिएको छ । पछिल्लो पटक अति सीमान्तकृत सन्थाल, हायु र बोटे भाषा पृष्ठ समावेश भएसँगै यो सङ्ख्या ४९ पुगेको हो । गोरखापत्रको ‘नयाँ नेपाल’ शीर्षक अन्तर्गत बहुभाषिक पृष्ठमा मातृभाषाका सामग्री प्रकाशन भइरहेको छ ।
गोरखापत्रमा २०६४ असोज १ गतेदेखि विभिन्न मातृभाषाका समाचार सामग्री समेटिएको ‘नयाँ नेपाल’ बहुभाषिक पृष्ठ प्रकाशन प्रारम्भ गरिएको थियो । २०६२/६३ को जनआन्दोलनपछि जारी नेपालको अन्तरिम संविधान, २०६३ ले विभिन्न मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएपछि नेपालको संवैधानिक इतिहासमा पहिलो पटक बहुभाषा नीतिले संवैधानिक मान्यता पाएको थियो । यो संवैधानिक व्यवस्था २०७२ असोज ३ गते जारी भएको नेपालको संविधान, २०७२ मा पनि छ ।
गोरखापत्र संस्थानको तत्कालीन सञ्चालक समितिले मुलुकको समावेशिता र बहुभाषिक नीतिलाई कार्यान्वयन गर्न २०६४ साउन ४ गते ‘नयाँ नेपाल’ शीर्षक अन्तर्गत बहुभाषिक पृष्ठ प्रकाशन गर्ने निर्णय गरेको थियो । दोस्रो जनआन्दोलनताका ‘नयाँ नेपाल’ बहुप्रचलनमा थियो । विसं १९५८ वैशाख २४ गतेदेखि नेपाली भाषामा प्रकाशन प्रारम्भ भएको गोरखापत्र दैनिकमा २०६४ असोज १ गतेदेखि छ भाषा (तामाङ, मैथिली, लिम्बू, गुरुङ, राई र नेपाल (नेवार)) मा सामग्री प्रकाशन भएका थिए ।
त्यसपछि क्रमशः उर्दु, थारू, भोजपुरी, शेर्पा, जिरेल, थामी, किसान, ताजपुरिया, बाहिङ, बान्तवा, अवधी, सुनुवार, मगर, धिमाल, बज्जिका, कुमाल, मगही, बराम, संस्कृत, उराँव, माझी, मुगाल, अछामी, डोट्याली, दराई, मेचे, जुम्ली, चेपाङ, मारवाडी, ल्होमी, राजवंशी, दनुवार, बझाङ्गी, ह्याल्मो, याक्खा, डडेलधुरेली, नेपाल भोटे, रानाथारू, वाम्बुले र कुलुङ भाषा समावेश भएको थियो । पछिल्लो पटक २०८२ चैत २८ गते सन्थाल र हायु तथा २०८३ वैशाख ८ गते बोटे भाषालाई समावेश गर्ने निर्णय संस्थान व्यवस्थापनले गरेको हो ।
गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले ४९ भाषामा प्रकाशित गोरखापत्र मुलुकको समावेशिता र भाषिक विविधताको पर्याय रहेको बताउनुभयो । यसले गोरखापत्र दैनिकले भाषा साहित्यको जगेर्नामा महìवपूर्ण भूमिका खेलेको उदाहरण दिँदै उहाँले समावेशी सञ्चार माध्यमको सशक्त उदाहरणका रूपमा प्रस्तुत भएको बताउनुभयो ।