गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले गोरखापत्रले जनसरोकारका विषयमा सङ्घ, प्रदेश तथा स्थानीय सरकारलाई निरन्तर खबरदारी गर्दै जिम्मेवार पत्रकारिताको नमुना प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गोरखापत्र प्रकाशनको १२६ वर्ष प्रवेश तथा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
शुभकामनामा उहाँले भन्नु भएको छ, ‘‘गोरखापत्रका ऐतिहासिक पुराना अङ्कहरूको ‘डिजिटल अर्काइभिङ (विद्युतीय अभिलेखीकरण)’ गरी नयाँ पुस्ताका लागि अध्ययन र अनुसन्धानको स्रोत बनाइनुले नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को लक्ष्यलाई समेत टेवा पुग्ने मेरो विश्वास छ।’’
शुभकामनाको पूर्णपाठ यस प्रकार छ –
शुभकामना सन्देश
नेपाली पत्रकारिताको जीवन्त इतिहास गोरखापत्रले आफ्नो गौरवशाली १२५ वर्षको ऐतिहासिक यात्रा सफलतापूर्वक पूरा गरी १२६औं वर्षमा प्रवेश गरेको तथा गोरखापत्र संस्थान ६४औं वर्षमा प्रवेश गरेको यस सुखद अवसरमा म संस्थान परिवार, कार्यरत पत्रकार, कर्मचारी र सम्पूर्ण पाठकवर्गमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु ।
गोरखापत्रले आफ्नो स्थापना देखि नै नेपाली समाजलाई सुसूचित र सुसंस्कृत बनाउन अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। नेपालको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय चरित्रलाई आत्मसात् गर्दै ४९ मातृभाषामा सामग्री प्रकाशन गर्नु र मुलुकको विविधतालाई एउटै पृष्ठमा समेट्नु गोरखापत्रको सबैभन्दा विशिष्ट र समावेशी पक्ष नेपालमा अखबारको प्रकाशन आरम्भ भएको दिनलाई 'राष्ट्रिय पत्रकारिता दिवस'का रूपमा मनाइनुले नेपाली सञ्चार क्षेत्रमा यसको गरिमा र योगदानलाई थप उचाइ प्रदान गरेको छ ।
राष्ट्रिय पत्रकारिता दिवस, २०८३ को अवसरमा यस वर्षका लागि “सुशासनको आधारः प्रविधिमैत्री जिम्मेवार पत्रकार” राष्ट्रिय नारा तय गरिएको छ । नाराको मर्म अनुसार सूचना प्रविधिको तीव्र विकाससँगै संस्थानले आफूलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने छ । यस क्रममा संस्थानले सञ्चार प्रविधिको नवीनतम् उपलब्धिलाई आत्मसात् गर्दै 'कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी नीति' पारित गरी कार्यान्वयनमा ल्याएको छ जुन संस्थानका लागि दूरगामी र सकारात्मक कदम हो । गोरखापत्रका ऐतिहासिक पुराना अङ्कहरूको 'डिजिटल अर्काइभिङ' (विद्युतीय अभिलेखीकरण) गरी नयाँ पुस्ताका लागि अध्ययन र अनुसन्धानको स्रोत बनाइनुले नेपाल सरकारको 'डिजिटल नेपाल फ्रेमवर्क' को लक्ष्यलाई समेत टेवा पुग्ने मेरो विश्वास छ ।
नेपाली पत्रकारिताको धरोहरका रूपमा रहेको गोरखापत्रले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपयोग गर्दै नागरिकको सूचनाको हकको संरक्षण गर्ने तथा सरकारका नीति तथा कार्यक्रमहरूलाई आम जनतासम्म पुर्याउने र जनसरोकारका विषयमा सङ्घ, प्रदेश तथा स्थानीय सरकारलाई निरन्तर खबरदारी गर्दै जिम्मेवार पत्रकारिताको नमुना प्रस्तुत गर्न संस्थानले कुनै कसर बाँकी राख्ने छैन भन्ने समेत विश्वास छ ।
अन्त्यमा, गोरखापत्र संस्थानका आगामी दिनमा अझ व्यावसायिक, प्रविधिमैत्री र समृद्ध रहून् भन्ने शुभेच्छा प्रकट गर्दछु ।
लक्ष्मी कुमारी बस्नेत सचिव
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय