गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २४ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध र जीवन्त बनाउने काम पत्रकारिताले गर्ने बताउनुभएको छ ।
उहाँले भ्रष्टाचारमुक्त समाज र जवाफदेही शासन प्रणालीका लागि सञ्चार माध्यमले सरकार र सरोकारवाला निकायलाई निरन्तर खबरदारी गरिरहनु पर्दछ र यस कार्यमा गोरखापत्र अग्रपङ्क्तिमा नै रहने विश्वास व्यक्त गर्नुभएको छ ।
गोरखापत्र प्रकाशनको १२६ वर्ष प्रवेशका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
उहाँले शुभकामनामा भन्नु भएको छ, ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको समावेशी मर्मलाई आत्मसात गर्दै हाल गोरखापत्रले नेपालमा बोलिने ४९ वटा राष्ट्रभाषामा सामग्री प्रकाशन गर्नु निकै प्रशंसनीय कार्य हो ।’’
शुभकामनाको पूर्णपाठ यस प्रकार छ –
शुभकामना
गोरखापत्र प्रकाशनको १२६ औं वर्ष प्रवेश तथा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा पाठक वर्ग, गोरखापत्र परिवार एवम् समस्त नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
वि.सं. १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक प्रकाशनका रूपमा 'गोर्खापत्र'को शुरूवात भएको थियो । त्यसयताका १२५ वर्षको अवधिमा गोरखापत्रले नेपाली पत्रकारिता क्षेत्रमा निकै महत्त्वपूर्ण योगदान पुऱ्याइरहेको छ। यति लामो गौरवशाली यात्रामा गोरखापत्र एउटा अखबारको रूपमा मात्रै रहेको छैन, नेपाली पत्रकारिताको जीवन्त इतिहास, राष्ट्रको गौरव र इतिहासको दस्तावेजका रूपमा रहेको छ । सरकारी सञ्चारमाध्याम भएतापनि गोरखापत्रले समयानुकूल नेपाली जनताले गरेका बलिदानीपूर्ण सङ्घर्ष र सामाजिक-राजनीतिक परिवर्तनहरूलाई आत्मसाथ गर्दै अगाडि बढेको मैले महसुस गरेको छु । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको समावेशी मर्मलाई आत्मसात गर्दै हाल गोरखापत्रले नेपालमा बोलिने ४९ वटा राष्ट्रभाषामा सामग्री प्रकाशन गर्नु निकै प्रशंसनीय कार्य हो ।
हामीले विभिन्न कालखण्डमा भएका राजनीतिक सङ्घर्षहरू र ठुलो बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध र जीवन्त बनाउने काम पत्रकारिताले गर्दछ । भ्रष्टाचारमुक्त समाज र जवाफदेही शासन प्रणालीका लागि सञ्चार माध्यमले सरकार र सरोकारवाला निकायलाई निरन्तर खबरदारी गरिरहनुपर्दछ । यस कार्यमा गोरखापत्र अग्रपङ्क्तिमा नै रहने छ भन्ने मैले विश्वास लिएको छु ।
सूचना प्रविधिको तीव्र विकास र सञ्चार माध्यमहरूको प्रतिस्पर्धात्मक युगमा पनि गोरखापत्रले आफ्नो गरिमा, विश्वसनीयता र जिम्मेवार पत्रकारितालाई कायम राख्दै समयानुकूल रूपान्तरण गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दछु । आगामी दिनहरूमा पनि यसले सत्य, तथ्य, निष्पक्ष र जनमुखी पत्रकारितामार्फत् समाजलाई सूचित, सचेत र सशक्त बनाउन अझ प्रभावकारी भूमिका खेल्ने विश्वास लिएको छु ।
वि.सं. २०८३ वैशाख २४ ।
ने.सं. ११४६ बछलागाः ५, बिहीबार